जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको काठेखोला गाउँपालिका अन्य पालिकाको तुलनामा सुगम मानिन्छ । सुगम पालिकामा आधा दशक अगाडिसम्म स्वास्थ्यको सहज पहुँच नहुँदा स्वास्थ्योपचारमा समस्या थियो । काठेखोलाका गाउँहरूबाट नागरिक स्वास्थ्योपचारका लागि घण्टौँ लगाएर बागलुङ बजार पुग्नुपर्ने अवस्था थियो । गाउँमा कोही बिरामी हुँदा अस्पतालभन्दा धामी–झाँक्रीकहाँ पुग्ने गर्थे । गाउँ नजिक स्वास्थ्य संस्था थिएनन् । तर अहिले गाउँपालिकाले स्वास्थ्य सेवामा उल्लेख्य सुधार गरेको छ । गाउँपालिकाले प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेर आफ्ना नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ । पालिकाका सात वडामा सात स्वास्थ्यचौकी, चार स्थानमा आधारभूत स्वास्थ्य एकाइ स्थापना गरी सञ्चालनमा छन् । साविकका रेश, भिमापोखरा, बिहुँकोट, लेखानी, धम्जा, तङ्ग्राम र लेखानी गाविसमा एक–एकवटा स्वास्थ्यचौकी भए पनि नागरिकले सहजरूपमा स्वास्थ्य सेवा पाउन सकेका थिएनन् । ठाउँ–ठाउँमा आधारभूत स्वास्थ्य एकाइ स्थापना भएपछि उपचारका लागि निकै सहज भएको स्थानीय पुतली थापाले बताउनुभयो । उहाँले गाउँमा स्वास्थ्य संस्था नहुँदा सामान्य उपचारका लागि पनि घण्टौँ लगाएर ऋण खोजेरै बागलुङ पुग्ने गरेको अनुभव सुनाउनुभयो । गाउँपालिकाले आफूहरूको समस्या बुझेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “ज्वरो आयो भने, हातखुट्टामा चोट लाग्यो भने पनि बागलुङ बजारमै पुग्नुपथ्र्यो, अहिले साना–तिना बिरामी यही गाउँमै उपचार हुन्छ, यहाँ उपचार गराउन पाउँदा खुसी लाग्छ, अब पहिलेको जस्तो बागलुङ बजारै जान नपर्ने भयो, सरकारले हाम्रो समस्या बुझेछ ।”रासस