कृषि क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि नलगाड नगरपालिकाले १० वटा बालीको पकेट क्षेत्र बनाएर काम थालेको छ । आयतित वस्तुुलाई भन्दा आफैँ उत्पादनमा जोड दिएर कृषिजन्य वस्तुु उत्पादन गरी बाहिर निर्यात गर्ने उद्देश्यका साथ विभिन्न बालीको पकेट क्षेत्र बनाएर काम थालिएको नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिनुभयो । नगरभित्रबाट मह, लसुन, मकैलगायतका वस्तुु बाहिर बिक्रीका लागि जाने गरेको उहाँले बताउनुभयो । नगरपालिकाले मौरीपालन पकेट क्षेत्रको रुपमा १, २ र ४ लाई लिएको छ । सुन्तला पकेट क्षेत्रका रुपमा वडा ३, अलैँचीका लागि वडा नम्बर ३, लसुन पकेट क्षेत्रमा रुपमा ९, १० र ११ लाई लिइएको छ । त्यस्तै धान पकेट क्षेत्रका लागि ७ र ८ नम्बर, मकैका लागि वडा नम्बर ५, आलु पकेटका रुपमा ३ र ६ नम्बरलाई लिइएको छ । कागती पकेटको लागि वडा नम्बर ५, फलफूलका लागि वडा १३, तरकारी पकेट क्षेत्रका लागि २, ४, ५, ७ र ८ नम्बरलाई लिइएको छ । क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत छ हेक्टरमा हिउँदेबाली आलु, १० हेक्टर क्षेत्रफलमा नगरपालिकाको ७ र ८ मा उन्नत गहुँ बीउ उत्पादन, एक सय ९० हेक्टरमा उन्नत तोरी बीउ उत्पादन गरिएको छ । त्यस्तै छ हेक्टरमा प्याजको उन्तत बीउ, १० हेक्टरमा लसुन लगाएको छ । त्यस्तै नलगाड नगरपालिका वडा नम्बर ७ मा ६ हेक्टरमा गहुँको मूल बीउ उत्पादन कार्य चलिरहेको छ ।रासस
