बेनी नगरपालिका–७ र २ को सिमाना मङ्गलाघाटस्थित डेढ सय वर्ष पुरानो झोलुङ्गे पुल संरक्षण थालिएको छ । मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा विसं १९४४ मा स्थानीय प्रविधि र स्रोत साधनको प्रयोग गरी बनाइएको झोलुङ्गे जीर्ण बनेपछि मर्मत थालिएको हो । बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेश श्रेष्ठले स्वरुप नबिग्रने गरेर पुल मर्मत गर्न लागिएको जानकारी दिनुभयो । “स्थानीयवासीलाई आवतजावतमा सहज, सुरक्षित बनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पुल मर्मतको काम चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यसहित काम थालिएको छ”, उहाँले भन्नुभयो, “प्रादेशिक झोलुङ्गे पुल कार्यक्रमको सहयोग, मिलन म्याग्दीको सामाजिक परिचालनमा बेनी नगरपालिकाले पुल मर्मत गर्न लागेको हो ।” नदीबाट पुलको उचाइलाई अहिलेको भन्दा बढाउने र काठको ठाउँमा ‘स्टिल डेग’ राखिने भएको छ । बयालीस मिटर लामो पुलको पुनःनिर्माण गर्न करिब रु ४५ लाख लागत अनुमान गरिएको प्रादेशिक झोलुङ्गे पुल कार्यक्रमका प्राविधिक दयाराम शाहले बताउनुभयो । पर्खाल भत्काएर पुरानै ढुङ्गाबाट नयाँ बनाउने, पुरानै लठ्ठालाई तन्काएर राखिने उहाँले बताउनुभयो । बागलुङ गलकोटका लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुमगाउँका स्थानीयवासीको सीपलाई प्रयोग गरी निर्माण गरेको उक्त पुल यस क्षेत्रकै पहिलो हो । स्थानीयवासी कृष्णबहादुर सार्कीका अनुसार तत्कालीन समयमा काँचो फलामलाई गोलमा तताएर कुटेर साङ्ले लठ्ठा बनाएर पुल निर्माण गरिएको थियो ।रासस
