सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत्गृहस्थल केराबारीमा कार्यरत एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का २२ वर्षीय सूर्य गोले तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो । विद्युत्गृहस्थल चिचिला गाउँपालिका–३ स्थित केराबारीमा मङ्गलबार राति ३ बजे सुरुङभित्र ब्लास्टिङ लोड गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर घाइते भएका तामाङको उपचारका क्रममा आज बिहान ८ बजे जिल्ला अस्पताल सङ्खुवासभामा मृत्यु भएको हो । सुरुङभित्र ब्लास्टिङ लोड गर्ने क्रममा अन्य दुई मजदुरसमेत घाइते भएका छन् । घाइते हुनेमा सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का ३८ वर्षीय मङ्गोल तामाङ र भोजपुर नगरपालिका–४ सिद्धेश्वरका ५४ वर्षीय भीमबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । घाइते सिन्धुपाल्चोकका मङ्गोलको दाहिने खुट्टा र हातमा चोट लागेको छ भने भोजपुरका भीमको हातखुट्टा र कुममा चोट लागेको छ । घाइतेको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको छ । अरुण आयोजनास्थलमा अहिलेसम्म एक दर्जन बढी मजदुरले ज्यान गुमाइसकेका छन् । परियोजनामा नेपाली र भारतीयसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् ।रासस