सरकारले विगतमा तुइन रहेका अधिकांश स्थानमा झोलुङ्गे पुल निर्माण गरेको छ । स्थानीयस्तरमा अरू विभिन्न प्रयोजनका लागि बनाइएका तुइनबाहेक मानिसलाई आवतजावतकै लागि आवश्यक भएर बनाइएका स्थानका तुइन हटाइसकिएको स्थानीय पूर्वाधार विभागले जनाएको छ । कतिपय स्थानमा खोलापारि पूर्वाधार निर्माण गर्दा सामान लैजानका लागि राखिएको तुइन नझिकिएकाले पनि अझै ठाउँठाउँमा तुइन रहेको विभागका महानिर्देशक ईश्वरचन्द्र मरहट्ठाले बताउनुभयो । आ–आफ्नो क्षेत्रमा रहेका तुइन अनुगमनको काम स्थानीय तहले गर्नुपर्ने उहाँको भनाइ थियो । “मानिसलाई नदी तर्न आवश्यक नै भएर भन्दा पनि रमाइलो लागेर प्रयोग गरेको हुनसक्छ,” महानिर्देशक मरहट्ठाले भन्नुभयो, “विभागले कुनै पनि ठाउँमा झोलुङ्गे पुल छ भन्ने खबर पाउनासाथ पुल बनाउने गरेको छ ।” सरकारले विसं २०७२ मा पहिचान गरेकामध्ये अधिकांश तुइन विस्थापन गरिसकेको जानकारी दिँदै उहाँले त्यतिबेला देशभरमा जम्मा एक सय ४३ तुइन पहिचान भएकामा एक सय ४१ स्थानमा झोलुङ्गे पुलले तिनलाई विस्थापित गरिसके पनि पञ्चेश्वरमा भारतले सहमति नदिएर बनाउन नसकिएको र एउटा बर्दिया राष्ट्रिय निकुञ्जको समस्याले गर्दा बनाउन नसकिएको बताउनुभयो । तुइन देख्नासाथ विभागले झोलुङ्गे पुल बनाइहाल्ने हुँदा समस्या नआउने भए पनि महाकालीमा भारत नेपाल सीमामा पर्नेभएकाले भारतले सहमति नदिएसम्म बनाउन नसकिएको महानिर्देशक मरहट्ठाले जानकारी दिनुभयो ।रासस