विद्युत् नभएको बेला मोबाइल बत्तीको सहारामा सुत्केरी गराउनुपर्ने बाध्यता खेपेको यहाँको एक स्वास्थ्य संस्थामा वैकल्पिक ऊर्जाको व्यवस्थापन गरिएको छ । बागलुङको गलकोट नगरपालिका–७ मल्लस्थित मल्ल स्वास्थ्यचौकीमा उज्यालोको लागि वैकल्पिक ऊर्जा (ब्याकअप)को व्यवस्थापन गरिएको हो । राष्ट्रिय समाचार समिति (रासस)ले माघ ५ गते ‘जहाँ मोबाइलको उज्यालोको भरमा सुत्केरी गराइन्छ’ शीर्षकमा समाचार प्रकाशन गरेपछि स्वास्थ्य संस्थामा ब्याकअप जडान गर्ने दवाव बढेको थियो । सर्वसाधारण, सरोकारवाला निकाय र सञ्चार संस्थाको दबाबपछि सामाजिक संस्था विवाइसी बागलुङले ‘ब्याकअप’ को लागि ब्याट्री उपलब्ध गराएको हो । विद्युत् आपूर्ति भएको बेला चार्ज गर्ने र अवरुद्ध हुँदा त्यही ब्याट्रीको प्रयोगले बत्ती बाल्न मिल्ने गरी फेयमेड फाउन्डेसन नेपालद्वारा सञ्चालित ग्रामीण स्वास्थ्य सुधार परियोजनाको सहयोगमा १२ भोल्टको ब्याट्री प्रदान गरेको परियोजनाका प्रशासन तथा लेखा अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । “मोबाइल बत्तीको भरमा प्रसूतिको विषय निकै मार्मिक र जटिल लाग्यो”, विवाइसीका अध्यक्ष मणिभद्र शर्माले भन्नुभयो, “परियोजनासँग समन्वय गरेर तत्काललाई समस्या समाधान गर्ने कोसिस गरेका छौँ ।” उक्त ब्याट्रीबाट अधिकतम छ वटा विद्युत् चिम एकै पटकमा बाल्न सकिन्छ । तत्काललाई प्रसूति कक्ष, कुरुवा कक्ष र गर्भ परीक्षण कक्षमा वैकल्पिक विद्युत्को उपयोग गर्ने मल्म स्वास्थ्यचौकी इञ्चार्ज निता कार्कीले बताउनुभयो । स्वास्थ्यचौकीमा नियमित प्रयोग हुने स्थानीयस्तरबाट उत्पादित विद्युत् तथा केन्द्रीय प्रसारण लाइनको विद्युत् बेला–बेलामा जाने समस्या हुँदा अन्तिम अवस्थामा मोबाइलकै लाइट वा ‘टर्च’ बालेर प्रसूति गराउनुपर्ने बाध्यता थियो । मल्म स्वास्थ्यचौकीमा यस वर्ष मात्रै १६ जना महिला सुत्केरी भएका छन् । “अब ढुक्क भएर काम गर्न सकिन्छ”, इञ्चार्ज कार्कीले भन्नुभयो, “गर्भवतीलाई प्रसूति व्यथाले च्यापेको बेला मोबाइल खोजेर लाइट बाल्ने झन्झट हट्यो ।” जिल्लाको बरेङ गाउँपालिका, गलकोट नगरपालिकाका अन्य स्वास्थ्य संस्था, जैमिनी नगरपालिकाका स्वास्थ्य संस्थालगायतका स्वास्थ्य संस्थामा ब्याकअपको समस्या छ ।रासस