पुस्तक पढे ज्ञान बढ्ने तथ्य त सबैलाई थाहै छ । एउटै पुस्तकभित्र धेरै ज्ञानको भण्डार रहेकाले मानिसले त्यो प्राप्त गर्न सक्दछ । यो थाहा भए पनि पुस्तक पढ्ने चासो भने थोरैले मात्र लिएको पाइन्छ । अहिले मानिसहरु फुर्सदको समयमा गफ गर्ने, सामाजिक सञ्जालमा व्यस्त रहने गर्दछन् तर पुस्तक पढ्ने समयको व्यवस्थापन भने कमै मात्रले गर्दछन् । यसरी मानिसमा पुस्तक पढ्ने बानीमा कमी आएको देखिएको छ । हिजोआज त झन् सूचना प्रविधिको विकासका कारण पुस्तक किन्ने मानिसको सङ्ख्या पनि घट्दै गएको देखिन्छ । त्यसैले सर्वसाधारणमा पुस्तक पढ्ने बानीको विकास गरी ज्ञान बढाउन सजिलो होस् भन्ने उद्देश्यले पाल्पाको सदरमुकाम तानसेनभन्दा बाहिर रामपुरमा सञ्चालनमा ल्याइएको छ, विद्यामन्दिर सार्वजनिक पुस्तकालय । सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यका साथ विसं २०७५ मा स्थापना भएको कालीगण्डकी फाउन्डेसन नेपालद्वारा विद्यामन्दिर सार्वजनिक पुस्तकालय स्थापना गरेपछि हिजोआज फुर्सदको समय निकालेर पुस्तक पढ्न जाने पाठकहरु बढ्दै गएका छन् । दिउँसो फुर्सदको समय पुस्तकालयमा आएर बेला–बेलामा पढ्ने गरेको समीक्षा पोखरेल बताउनुहुन्छ । शहीद बहुमुखी क्याम्पस रामपुरमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत उहाँ आफ्नो औपचारिक शिक्षासँग सम्बन्धित मात्र नभई जीवनोपयोगी हुने ज्ञानवद्र्धक पाठ्यपुस्तक पुस्तकालयमा बसेर पढ्ने गर्नुहुन्छ । “यहाँ हामीले खोजेका सबैजसो पुस्तकहरु उपलब्ध छन्, निःशुल्क पढ्ने व्यवस्था छ, समयसामयिक पुस्तकहरु पाइने हुँदा बजारमा पुस्तक खोज्न धाउनु परेन, विद्यार्थीलाई पाठ्यपुस्तकसँग सम्बन्धित पुस्तक उपलब्ध भएपछि धेरै सजिलो भएको छ”, उहाँले भन्नुभयो ।रासस