सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिभिजन( एनटिभी) ले आफूलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउँदै लैजानुपर्ने बताउनुभएको छ । नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले अनगिन्ती टेलिभिजनको भीड बीच आफूलाई अब्बल बनाउनुपर्ने बताउनुभयो । “अहिले नेपाल टेलिभिजनलाई विविधता र बहुलता, नेपाली समाजको आवश्यकता र आम नागरिकको अपेक्षा पूरा गर्दै देश भित्र र बाहिरका अनगिन्ती टेलिभिजन च्यानलका बीच आफूलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउँदै लैजानुपर्ने चुनौती रहेको छ”, सरकारका प्रवक्ता शर्माले भन्नुभयो, “यसका लागि व्यावसायिक सोच र जनशक्ति अधिकतम् सदुपयोग र परिचालन गर्ने तथा व्यापारिक आम्दानीमा पनि अभिवृद्धि गर्दै लैजानुपर्ने भएको छ ।” आगामी दिनका लागि यस टेलिभिजनले गहिरो अध्ययन गरी आम जनताले महसुस गर्ने खालका योजना तय गरोस् भन्दै उहाँले त्यसलाई लक्ष्यअनुरुप सम्पन्न गर्न सम्पूर्ण साधन स्रोतको सही ढङ्गले सदुपयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सम्वद्र्धन, राष्ट्रिय हितको प्रवद्र्धन, संवैधानिक सर्वोच्चता, विधिको शासन, बहुलता, विविधता र सामाजिक न्यायको स्थापना जस्ता विषयलाई आत्मसाथ गर्दै आगामी दिनमा नेपाल टेलिभिजनले आफ्ना प्रसारणका विषयवस्तु, प्रस्तुति, प्रविधि र पुहँचमा थप विस्तार र सुधार गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।रासस