पोखरा थिएटरको आयोजनामा विगत चार वर्षदेखि विद्यालयस्तरीय नाटक महोत्सव आयोजना भइरहेको छ । पोखरास्थित गन्धर्व नाटकघरमा माघ १४ देखि तेस्रो संस्करणको नाटक महोत्सव चलिरहेको छ । विसं २०७६ मा पोखरा महानगरस्तरीय विद्यालय नाटक महोत्सव आयोजना गरेको थिएटरले त्यसपछि उक्त महोत्सवलाई प्रदेशस्तरीय बनाएको हो । सुरुमा कम सहभागिता भए पनि पछिल्ला दिनमा नाटकमा सहभागी विद्यालय बढेको नाटक महोत्सव संयोजक परिवर्तनले जानकारी दिनुभयो । पहिलो संस्करणमा विद्यालयमै गएर नाटक आफैले तयार गरिदिने अनि नाटकघरमा मञ्चन गर्ने शर्तमा अधिकांश नाटक आएको परिवर्तनले सम्झिनुभयो । “त्यो समयमा हामीले १० वटा नाटक आउने अपेक्षा गरेका थियौंँ तर आठवटा नाटक आयो”, परिवर्तनले भन्नुभयो, “त्यो पनि लौन नाटक महोत्सव हुदैछ हामी आएर सिकाउँछौँं, अनि महोत्सवमा ल्याइदिन प¥यो भनेर हामीले आग्रह गरेपछि आएका हुन् ।” प्रदेश सरकारको सहकार्यमा प्रदेशस्तरीय बनाएपछि नाटकको सङ्ख्या ह्वात्तै बढेको उहाँले बताउनुभयो । प्रदेशस्तरीय बनाएको पहिलो वर्ष ४० वटा नाटकले सहभागिता जनाएका थिए । त्यो समय भर्चुअल सहभागिताले पनि सङ्ख्या बढाएको उहाँले बताउनुभयो । पहिलो प्रदेशस्तरीय नाटक महोत्सव गरेपछि दोस्रो संस्करणमा २४ नाटक सहभागी भए । त्यसबाट १२ नाटक छनोट भएर महोत्सवमा भाग लिए । त्यो बेला गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना भएर महोत्सवमा सहकार्य गरेको गन्धर्व नाटकघरका अध्यक्षसमेत रहनुभएका परिवर्तनले बताउनुभयो ।रासस