मकवानपुरको सिमभन्ज्याङमा सातवटा ताल निर्माण कार्य सुरु गरिएको छ । बागमती प्रदेश सरकारको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले ताल निर्माण गर्न लागेको हो । दुई हजार चार सय ८८ मिटर उचाइमा रहेको सो स्थान पर्यटकीय क्षेत्रका रुपमा परिचित छ । प्रदेश सरकारको रु ७२ लाख ६९ हजारको लागतमा हाल एक तालको निमार्ण सुरु भइसकेको र अन्य तालहरुको निर्माणको प्रक्रिया कमशः सुरु हुने सो कार्यालयका कार्यालय प्रमुख राजेश पौडेलले जानकारी दिनुभयो । पहिलो चरणमा एउटा ताल निर्माण हुने छ भने त्यसपछि बजेट आएको आधारमा अन्य ताल निर्माण प्रक्रिया सुरु गरिने बताइएको छ । अहिले थाहा नगरपालिका–४ स्थित सिमभन्ज्याङमा निर्माण हुने तालको तल्लो आधार निर्माण कार्य शुरु गरिएको छ । प्रस्तावित ताल निर्माणका लागि तीन मिटर उचाइको बाँध निर्माण गरिनेछ । पक्की बाँध निर्माणपछि करिब सय मिटर लम्बाइभन्दा बढी क्षेत्रफलको तालमा पानी सङ्कलन गरिने बताइएको छ । कार्यालयबाट प्राप्त जानकारीअनुसार निर्माणाधीन तालको माथि पाँचवटा र तल एउटा ताल निर्माण गर्ने योजना रहेको छ । प्रथम चरणअन्तर्गत एउटा तालको ६५ प्रतिशत कार्य सम्पन्न भएको छ । हाल अत्यधिक चिसोका कारण तत्काल निर्माणको कार्य रोकिएको र चिसो कम हुने बित्तिकै पुनः निर्माण कार्य सुरु गरिने बताइएको छ । त्यहाँ पहिलादेखि नै साधारण किसिमको दुईवटा प्राकृतिक ताल थियो । जनताको माग र आवश्यकताअनुसार त्यस दुईवटा ताललाई समेटेर अहिले त्यहाँ सातवटा ताल निर्माण हुन लागेको प्रमुख पौडेलले भन्नुभयो । स्थानीय करुणाभूमि सामुदायिक वनको विशेष पहलमा ताललाई वातावरणमैत्री बनाउन तथा पर्यटन आकर्षित गर्ने उद्देश्यले तालको निर्माण सुरु भएको हो ।रासस