संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपालले आफ्नो हितका विषयमा सार्वभौम भएर निर्णय गरोस् भन्ने अमेरिकाको चाहना रहेको बताउनुभएको छ । दुईदिने नेपाल भ्रमणका क्रममा आइतबार यहाँ आउनुभएका उहाँले आज पत्रकार सम्मेलनमा नेपालले आफ्ना छिमेकी मुलुकहरूसँग बनाएको सुमधुर सम्बन्धलाई आफूहरुले स्वागत गर्ने उल्लेख गर्दै अमेरिकाले नेपालमा सहकार्य र आर्थिक सम्बन्धलाई बलियो बनाउन चाहेको बताउनुभयो । भ्रमणका दौरान प्रधनमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा विमला राई पौडेलसँग भेट भएको र सो अवसरमा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको उपविदेशमन्त्री नुल्यान्डले जानकारी दिनुभयो । सो अवसरमा उहाँले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) कार्यान्वयनको आगामी कदम, सङ्क्रमणकालीन न्याय प्रक्रिया, नेपालमा अमेरिकी लगानी बढाउने वातावरण निर्माणलगायत विषयमा छलफल भएको उहाँको भनाइ थियो ।रासस