कालीगण्डकीबाट निकालिएका देवशिला आज जनकपुरधामबाट अयोध्यातर्फ पठाइएको छ । शालिग्राम पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीबाट निकालेर गलेश्वरधाम परिसरमा लगिएको ती शिला बिहीबार मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजाआजा गरी शनिबार राति जनकपुरधामस्थित जानकारी मन्दिरमा ल्याइएको थियो । कालीगण्डकी नदीबाट ल्याइएको दुई विशाल ‘देवशिला’ लाई जानकी मन्दिरमा आइतबार दिनभर विशेष पूजापाठ र महाआरति गरिएको थियो । ती शिलाबाट भारतको अयोध्यामा निर्माणाधीन श्रीरामजन्मभूमि मन्दिरमा भगवान् रामको मुख्य मूर्ति बनाइनेछ । म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी किनारको शिला क्रेनमार्फत निकाली गाडीमा राखेर गलेश्वर लगिएको थियो । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकी मन्दिरका महन्थ रामतपश्वेर दास वैष्णवलाई हस्तान्तरण गरेपछि बाजागाजा र ¥यालीसहित शिला जनकपुरधाम ल्याइएको थियो । सोह्र र १८ मेट्रिक टन तौलका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुई वटा शिलाको पहिचान र क्षमापूजा भएपछि बिहीबार श्रीपञ्चमीको शुभ साइतमा शिला जनकपुरधाम हुँदै आज बिहान पुनः विशेष पूजापछि अयोध्या पठाइएको हो । रामको मूर्ति बनाइने शिलाको दर्शन गर्न जानकी मन्दिर परिसरमा भक्तजन, सरकारी निकायका प्रमुख तथा जनप्रतिनिधि, सर्वसाधारणलगायत आइतबार दिनभर भीड लागेको थियो । गत आइतबार गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धार्मिक विधिअनुसार क्षमापूजा र गङ्गा पूजन गरेर शिला महन्थ दास र अयोध्याको राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजलाई शिलाको प्रतीक स्वरुप तीन वटा शालिग्राम हस्तान्तरण गर्नुभएको थियो ।रासस
