विराटनगरमा हुन लागेको सिएनआई कोशी एक्स्पो–२०७९ ऐतिहासिक एवं भव्य हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । विराटनगरको शङ्करपुरमा माघ १९ गतेदेखि माघ २८ गतेसम्म आयोजना हुने सो एक्स्पोमा चार सय स्टल रहने उद्योग परिसङ्घ प्रदेश नं १ अध्यक्ष भीम घिमिरेले जानकारी दिनुभयो । विसं २०५४ देखि निरन्तर आयोजना हुँदै आएको उक्त एक्स्पोमा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानका उद्योगी एवं व्यापारीको सहभागिता रहनेछ । एक्स्पोमा बृहत्रूपमा उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, मिल तथा मेशिनरी औजार, अटो, सेवा क्षेत्र, उपभोग्य वस्तुका स्टल रहने व्यवस्था मिलाइएको छ । चौतर्फी आर्थिक मन्दी छाएको अवस्थामा एक्स्पोको माध्यमबाट हुने आर्थिक क्रियाकलापले अगाडि बढाउन महत्त्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ । एक्स्पोमा अत्याधुनिक ह्याङ्गर(डोम) मा उत्पादनका क्षेत्रअनुसार अलगअलग रूपमा वस्तु तथा सेवाको अवलोकन र खरिद गर्न सकिने व्यवस्था गरिने बताइएको छ । स्थानीय तहबाट केही घरेलु, महिला, लघु, साना तथा कृषि क्षेत्रका उद्यमीले निःशुल्क स्टल प्राप्त गर्ने अध्यक्ष घिमिरे जानकारी दिनुभयो । लगभग चार लाख मानिस सहभागी हुने अनुमान गरिएको सो एक्स्पोलाई रोचक एवं ज्ञानवद्र्धक बनाउन सौर्यमण्डलको अवलोकन गर्ने व्यवस्थाका लागि ‘प्लानेटेरियम’ स्थापना गर्ने, विशेष किसिमको कक्षभित्र ३६० डिग्रीमा सौर्यमण्डलको अवलोकनको व्यवस्था मिलाइने, विभिन्न उमेर अनुसारका दर्शकको समूह बनाएर अन्तरिक्षमा भएका ग्रहहरू र तारा मण्डलको बनावट र त्यसको चक्रबारे जानकारी गराइने कार्यबाट विद्यार्थीले सौर्यमण्डल बारेमा ज्ञान हासिल गरी विज्ञानप्रति विश्वास बढ्ने र उनीहरूको अध्ययनमा आकर्षण थप्ने विश्वास एक्स्पो आयोजकले लिएको छ ।रासस