उदयपुर जिल्लाको पश्चिमी, मध्य र पूर्वी पहाडी क्षेत्रमा बर्सेनि अदुवाखेती बढ्दै गए पनि किसानले उचित मूल्य नपाउँदा चिन्तित बनेका छन् । जिल्लाको कटारी नगरपालिका-१० सोरुङछबिसेका अदुवा उत्पादक किसान धनबहादुर श्रेष्ठ आफूहरुले उत्पादन गरेको अदुवाले उचित मूल्य पाउन नसकेकामा गुनासो गर्नुहुन्छ । “यस क्षेत्रका अन्य अदुवा उत्पादक किसानले लामो समयदेखि व्यावसायिक अदुवाखेती गर्दै आएका छौँ, तर अहिलेसम्म पनि अदुवाले उचित मूल्य पाउन सकिएको छैन”, उहाँले भन्नुभयो । कटारी-९ बेतिनीका कृषक खेमबहादुर राउतका अनुसार अहिले पनि आफूहरुले उत्पादन गरेको अदुवाको मूल्य खरिदकर्ता वा विचौलियाले प्रतिकिलो रू ५० देखि ६० भन्दाबढी मूल्य निर्धारण नगरेका कारण आफूहरु बर्सेनि मारमा पर्दै आएको बताउनुहुन्छ । जिल्लाको ताप्ली गाउँपालिका–५ रुपाटारका कृषक देवराज खड्काका अनुसार अधिकांश अदुवा खरिदकर्ता तथा विचौलियाले कृषकको अदुवाको मूल्य निर्धारण गर्ने गरेका कारण उचित मूल्य पाउन नसकिएको हो । मङ्सिर तथा पुसमै अदुवा खरिदकर्ता विचौलिया गाउँगाउँ प्रवेश गरेर अदुवाको मूल्य प्रतिकिलो रू ४० देखि ५० सम्ममै खरिद गर्न थालेपछि किसानहरुले उचित मूल्य नपाएको गुनासो गर्दै आएका छन् ।रासस