झापाका पोल्ट्री व्यवसायीले भारतीय कुखुराको अवैध आयात रोक्न सरकारसँग माग गरेका छन् । आर्थिक मन्दी र भारतीय कुखुराको अवैध आयातले यहाँको पोल्ट्री व्यवसाय धरायसी बनेको भन्दै सीमाबाट हुँदै आएको अवैध कुखुरा आयात रोक्न माग अघि सारेका हुन् । भारतबाट सस्तो मूल्यमा आयात हुने जिउँदो कुखुरा र मासुको आयातले यहाँका पोल्ट्री व्यवसाय सङ्कटमा परेकाले त्यसलाई कडाइका साथ नियन्त्रण गर्नुपर्ने जिल्ला कुखुरा व्यवसायी सङ्घ झापाका अध्यक्ष विवेक निरौलाले बताउनुभयो । आफूहरुले उठाएका व्यावसायिक मागका बारेमा प्रदेश १ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेट गरी ज्ञापन पत्रसमेत बुझाइएको उहाँले बताउनुभयो । कोरोना महामारी र त्यसपछिको आर्थिक मन्दिका कारण विकराल अवस्था आएको पनि पोल्ट्री व्यवसायीको भनाइ छ । भारतबाट आउने अण्डा, कुखुरा र मासुको आयात रोक्न सक्दा पनि यसबाट यहाँको व्यवसायीलाई राहत मिल्ने आफूहरूले मुख्यमन्त्री कार्कीको ध्यानाकर्षण गराएको निरौलाको भनाइ छ । उहाँका अनुसार जिल्लामा दैनिक करिब ४० हजार केजीसम्म कुखुराको खपत हँुदैआएको छ । आर्थिक मन्दिका कारणले ४० प्रतिशत माग घटेको र मूल्यसमेत घटेको उहाँले बताउनुभयो । तीन वर्ष अघिसम्म जिल्लामा करिब आठ हजार जना किसान पोल्ट्री व्यवसायमा आवद्ध भए पनि अहिले आएर यो सङ्ख्या चार हजारका हाराहारीमा भएको उहाँको भनाइ छ ।रासस