नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा द्विपक्षीय सम्बन्ध, लोकतन्त्र, विकास र सुशासनमा प्राप्त सहयोग अझ सुदृढ बनाउने विषयमा छलफल भएको पूर्वप्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । भेटमा देउवाले नेपाललाई अमेरिकाबाट निरन्तर प्राप्त सहयोग र समर्थनको उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गर्नुभएको थियो । अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड दुई दिने नेपाल भ्रमणका लागि आइतबार यहाँ आउनुभएको हो । उहाँले सन् २०२१ को अप्रिलमा राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्रीका रूपमा शपथ लिनुभएको हो । त्यसअघि उहाँ वासिङ्टन डिसीमा अवस्थित विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति फर्म अल्ब्राइट स्टोनब्रिज ग्रुपमा वरिष्ठ परामर्शदाताका रूपमा कार्यरत हुनुहुन्थ्यो । उपविदेश मन्त्री नुल्यान्ड ब्रुकिङ्स इन्स्टिच्युसनमा गैर–आवासीय सिनियर फेलो, येल विश्वविद्यालयमा वृहत् रणनीतिकी विशिष्ट अभ्यासकर्ता र नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीको सञ्चालक समितिकी सदस्य पनि रहिसक्नुभएको छ । तेत्तीस वर्षयता अमेरिकी कूटनीतिज्ञ रहनुभएकी उहाँ अमेरिकी राष्ट्रपति ओबामा र विदेश मन्त्री केरी मातहत सन् २०१३ को सेप्टेम्बरदेखि २०१७ को जनवरीसम्म युरोपेली तथा युरेसियन मामिलासम्बन्धी सहायक विदेश मन्त्रीका रूपमा सेवारत हुनुहुन्थ्यो । उहाँ अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनको कार्यकालताका विदेश मन्त्रालयकी प्रवक्ता हुनुहुन्थ्यो भने राष्ट्रपति जर्ज डब्ल्यु बुसको दोस्रो कार्यकालमा सन् २००५ देखि २००८ सम्म नेटोका लागि अमेरिकी राजदूत हुनुहुन्थ्यो ।रासस