म्याग्दीको रणनीतिक महत्त्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (लाम्पाटा–दरवाङ) खण्ड निर्माणमा भएको ढिलाइले यात्रुलाई सास्ती भएको छ । सर्वसाधारण जीर्ण, कच्ची, धुलाम्मे र हिलाम्मे सडकमा जोखिम तथा सास्तीपूर्ण यात्रा गर्न बाध्य भएका छन् । विसं २०७८ जेठ महिनामा सकिनुपर्ने सडक निर्माणको भौतिक प्रगति ५५ प्रतिशत छ । मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्रे गर्न विसं २०७६ जेठ ३१ गते विरुवा–क्याराभान जेभी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच रु २२ करोड ५७ लाख ९३२ मा ठेक्का सम्झौता भएको थियो । पछिल्लो पटक थपिएको म्याद आगामी असारमा सकिँदैछ । गत वैशाख महिनाको पहिलो सातादेखि सडक निर्माणको काम ठप्प छ । सो खण्डमा पर्ने बाङ्गेपहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ । अधुरो, अधकल्चो हिलाम्मे र धुलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्नुपरेको मङ्गला गाउँपालिका–२ रणवाङका श्रीराम पौडेलले बताउनुभयो । “दुई÷तीन वटा ठेकेदार फेरिए । कसैले पनि काम पूरा गरेका छैनन् । काम अधकल्चो बनाएर छाडेका छन्”, उहाँले भन्नुभयो, “पूर्वाधार विकास कार्यालय, प्रशासन र जनप्रतिनिधिमार्फत दबाब दिए पनि अटेरी गरेका छन् ।” सडकमा थुपारिएको माटो, ढुङ्गा र खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएको छ । लथालिङ्ग अवस्थामा रहेको सडकमा सवारीसाधन सञ्चालन गर्न गाह्रो भएको यातायात व्यवसायी शक्ति छिनालले बताउनुभयो । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने यो सडक विसं २०६३ मा मार्ग खुलेको थियो ।रासस