देशभित्रै केही उद्यम गरौँ भन्ने हुटहुटीले कतारको मासिक डेढ लाखको जागिर त्यागेर भद्रपुर–१ का ३५ वर्षीय अर्जुन सुवेदीले उन्नत मुर्रा जातको भैँसीपालन सुरु गर्नुभएको छ । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ११ वर्षसम्म काम गर्दा मासिक डेढ लाख आर्जन गरेको उहाँले बताउनुभयो । स्वदेशमै पसिना र सीप लगाउने चाहना बोकेर उहाँ कतारबाट नेपाल फर्किनुभयो र सुवेदी कृषि फार्म स्थापना गर्नुभयो । विसं २०७६ मा स्थापना गरिएको उहाँको फार्ममा अहिले ५५ वटा मुर्रा जातको भैँसी पालिएका छन् । हावापानी अनुकूलको दुधालु प्रजाति रोज्ने क्रममा उहाँले मुर्रा भैँसीले नै गोठ भर्नुभएको हो । यी भैँसीले कम्तीमा १० लिटरका दरले दूध दिन्छन् । “घरको आर्थिक दुर्दशा र देशमा बेरोजगारीको कहाली लाग्दो अवस्थाले नै मलाई खाडीको ४० डिग्री तातो मरुभूमिमा पु¥याएको छ । त्यो मेरो रहर थिएन”, वैदेशिक रोजगारीबाट फर्किनुको कारण खुलाउँदै उहाँले भन्नुभयो, “तर सधँैभरि पैसाका पछाडि लागेर परदेशमा बसिरहन मन लागेन । स्वदेशमै बरु रोजगारी सिर्जना हुने केही उद्यम गर्छु भन्ने सोचेर म नेपाल फर्केको हुँ । उहाँकी पत्नी दुर्गा सुवेदी पनि वैदेशिक रोजगारीकै सिलसिलामा चार वर्ष कतार बस्नुभयो । उहाँहरू दुवै जनासँगै स्वदेश फर्किनुभयो र पशुपालनमा लाग्नुभएको हो । स्वदेश फर्केर भद्रपुर–१ पृथ्वीनगरमा आफ्नै सात कठ्ठा जग्गामा रु २६ लाख लगानी गरेर आधुनिक भैँसीगोठ निर्माण गर्नुभयो । सिराहाको लहानबाट भैँसीका पाडीहरू किनेर ल्याउनुभयो । तराईको हावापानीमा राम्ररी सप्रिने भएकाले मुर्रा भैँसी रोजेको उहाँ बताउनुहुन्छ ।रासस