म्याग्दीको धवलागिरि गाउँपालिका–२ को लमसुङमा पहिलो पटक बस पुगेको छ । ६५०७ नम्बरको बस शनिबार गाउँपालिकाको केन्द्र मुना हुँदै पहिलो पटक लमसुङ पुगेको हो । गाउँमा पहिलो पटक बस पुग्दा स्थानीयवासीमा खुसियाली छाएको धवलागिरि गाउँपालिका–२ का वडाध्यक्ष अकप्रसाद विकले जानकारी दिनुभयो । धवलागिरिको वडा नम्बर १ र २ मा पर्ने गुर्जा र लुलाङ तथा बागलुङको ढोरपाटन क्षेत्रलाई गाउँपालिकाको केन्द्र मुनासँग जोड्ने मुना–लुलाङ सडक अन्तरगत पर्ने महतला भीरमा खनिएको सडक स्तरोन्नति भएपछि बस चल्ने भएको हो । बस र जिप सञ्चालन भएपछि लुलाङ, लमसुङ, खोरिया र गुर्जाका पाँच सयभन्दा बढी घरधुरी लाभान्वित भएका छन् । गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरका अनुसार गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु १० लाख बजेटबाट पूर्वाधार विकास कार्यालयले महतलाको भीरमा ग्रेड सुधार गरेर गाडी चल्ने बनाएको हो । दुई वर्ष लगाएर गत वर्ष करिब एक सय मिटर मार्ग खोलिएको सडकको ग्रेड नमिलेका कारण यातायातका साधन सञ्चालन हुन सकेको थिएन । गाउँपालिकाका उपाध्यक्ष पुनका अनुसार लमसुङदेखि लुलाङ हँुदै गुर्जा जोड्ने सडक निर्माणको काम पनि भइरहेको छ । लुलाङ गुर्जा सडक निर्माणका लागि धवलागिरि गाउँपालिकाले रु ४५ लाख र गण्डकी प्रदेश सरकारले रु ८० लाख विनियोजन गरेका छन् । धवलागिरि गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने दुर्गम मलम्पार गाउँमा पनि सडक पुगेको छ । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले चालु आर्थिक वर्षमा विनियोजन भएको रु २५ लाख बजेटबाट मल्कवाङ हुँदै मलम्परासम्म सडक जोडिएको र त्यसलाई विस्तार गरेर वडा नम्बर ६ को बुलसँग जोड्न काम भइरहेको जानकारी दिनुभयो ।रासस