भारतसँग सीमा जोडिएको महोत्तरीको मनराशिसवा नगरपालिकाले थालेको मदिराजन्य र लागुऔषध नियन्त्रणको अभियान प्रभावकारी बन्दै गएको छ । नगरपालिकाले थालेको अभियानबारे सबैतर्फबाट सकारात्मक चासो बढ्दै गएपछि यसको कार्यान्वयन प्रभावकारी बनेको हो । केही दिन पहिलेमात्र नगर कार्यपालिकाको कार्यालय मनराशिसवाले भारतसँग सीमा जोडिएका नगरका छ वडामा मदिरा बनाउने, भण्डारण गर्ने, बेचबिखन गर्ने र सार्वजनिकरुपमा खुला प्रयोग गर्न नपाइने गरी रोक लगाएको छ । यसरी मदिरा पूर्ण रोक लगाइएका वडामा भारतसँग सीमा जोडिएका वडा नं २, ३, ५, ८, ९ र १० छन् । गत पुसमै थालिएको लागुपदार्थ विरुद्धको अभियान र यही माघ १ गते सुरु गरिएको मदिराजन्य नियन्त्रण अभियान प्रभावकारी बन्दै गएको नगर कार्यपालिकाको कार्यालयको ठम्याइ छ । मनराशिसवामा जम्मा १० वडा छन् । यीमध्ये छ वडामा मदिरा पूर्ण बन्देज गरिएको र बाँकी चार वडा (१, ४, ६ र ७) मा पनि मदिरा बिक्रीवितरण र प्रयोगमा सीमा तोकिएको नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीले जानकारी दिनुभयो ।रासस