नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चालु आर्थिक वर्षको पुस मसान्तसम्म नौ जना नयाँ कुष्ठरोगी भेटिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार साउनदेखि पुससम्म जिल्लामा नौ जना नयाँ कुष्ठरोगी पहिचान भएको जनाइएको छ । जिल्लामा अहिले नयाँ र पुराना गरी २८ कुष्ठरोगीले औषधि सेवन गरिरहेका छन् । औषधि सेवन गरिरहेका कुष्ठरोगीमध्ये १२ पुरुष र १६ महिला रहेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंले बताउनुभयो । “अहिले गैँडाकोट नगरपालिकामा १२ जना कुष्ठरोगी रहनुभएको छ”, प्रमुख चापागाईंले भन्नुभयो, “देवचुली नगरपालिकामा छ, कावासोती नगरपालिकामा पाँच, विनयी त्रिवेणी गाउँपालिकामा तीन, मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकामा एक÷एक कुष्ठरोगी औषधि सेवन गरिरहनुभएको छ ।” नयाँ फेला परेका कुष्ठरोगीमध्ये पुरुष सात र महिला एक जना छन् । “जिल्लाको मध्यविन्दु नगरपालिकामा एक पुरुष, गैँडाकोट नगरपालिकामा एक जना पुरुष एक महिला, हुप्सेकोट गाउँपालिकामा एक पुरुष र कावासोती नगरपालिकामा एक पुरुष नयाँ कुष्ठरोगी भेटिएका छन् ।” उहाँले भन्नुभयो, “नयाँ फेला परेका कुष्ठरोगीले नियमित औषधि सेवन गरिरहेका छन् ।” नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा गत आव २०७८÷७९ को असारसम्म २३ जना कुष्ठरोगी फेला परेका थिए । आव २०७७÷७८ को असारसम्म जम्मा सङ्क्रमितको सङ्ख्या ३५ थियो । “जिल्लामा प्रत्येक वर्ष कुष्ठरोगीको सङ्ख्या घट्दै गइरेको छ”, प्रमुख चापागाईंले भन्नुभयो, “समयमै उपचार गराएमा पूर्णरूपमा रोग निको हुने विश्वास जनचेतनामार्फत् जागृत गराइएपछि रोगीको संख्या क्रमिकरूपमा घट्दै गइरहेको छ ।”रासस