विराटनगरमा आयोजना हुने सीएनआई एक्स्पोमा घरेलु तथा साना उद्यमीका उत्पादनलाई प्रवद्र्धन गर्न अल्लोको कपडादेखि विभिन्न स्वादका अचारका ‘स्टल’ रहने भएका छन् । एक्स्पो यही माघ १९ गतेदेखि २८ गतेसम्म चल्ने र सो एक्स्पोको साझेदार संस्था नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङको समन्वयमा लघु, घरेलु, साना र कृषि उद्यमीका लागि मात्रै ७२ स्टल रहने जनाइएको छ । ताप्लेजुङको राडी, तेह्रथुमको ढाका, भोजपुरको खुकुरी, विभिन्न जिल्लामा निर्मित हस्तकलाका सामान, घरेलु सामग्रीबाट निर्मित जुत्ताचप्पल, ढाकाका कपडा, विभिन्न जातका फलफूल र अचारका स्टल रहने छन् । हिमाली जिल्लाका जडिबुटी औषधि, छुर्पी, मह, चिज, अकबरे खोर्सानी लगायतका अर्गानिक कृषि उत्पादन पनि एक्स्पोमा राखिने नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङका अध्यक्ष चेतन निरौलाले बताउनुभयो । विशेष गरी महिला संलग्न भएर सुरु गरिएका लघु तथा घरेलु उद्योग, कृषिजन्य वस्तुका विशेष उत्पादनलाई एक्स्पोका माध्यमबाट बजारसम्म पु¥याउने र उहाँहरुलाई पनि खुल्ला बजारमा पहुँच स्थापित गर्ने उद्देश्यका साथ स्टलका लागि समन्वय गरिएको अध्यक्ष निरौलाले जानकारी दिनुभयो ।रासस