रार्‍आ हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेगमा अवस्थित टाँपुकैरुपमा व्यवस्थित छ, ल्होमान्थाङ । नेपालको मरुभूमि भनेर चिनिने यो ठाउँ हिमाली संस्कृति हेर्न र बुझ्न चाहनेका लागि पुग्नैपर्ने गन्तव्य हो । मौलिक संस्कृतिले भरिपूर्ण ल्होमान्थाङको भू–वनोटले पहिलोपटक यहाँ आउनेलाई सपनाको संसार जस्तै अनुभूति गराउँछ । पछिल्लो समयमा भएका राजनीतिक परिवर्तनसँगै ठाउँठाउँमा सामाजिक व्यवस्थामा परिवर्तन आए पनि ल्होमान्थाङमा अहिले पनि परम्परागत नेतृत्व प्रणालीको अभ्यास भेटिन्छ । गण्डकी प्रदेशको उत्तरी ढोकाको पहिचान बनाएको यो मुस्ताङको उपल्लो थलो ‘ल्हो’ उपत्यका हो । जुन ऐतिहासिक ल्हो राज्यको राजधानी पनि हो । यहाँ ग्रामीण नेतृत्वका रुपमा मुखियाको नियुक्ति तथा परिचालन गर्ने परम्परा धेरै पहिलेदेखि चल्दै आएको अनुसन्धानकर्ता रामचन्द्र बराल बताउनुहुन्छ । बरालको ‘ल्हो राज्यका घेन्पा राजनीतिले सिकाएका पाठ’ शीर्षकको अनुसन्धानमा नेपालको एकीकरण भन्दाअघि भोट र भारतका बीच आर्थिक कारोबारका लागि प्रयोग हुँदै आएका पाँच वटा पैदलमार्गमध्ये सबैभन्दा होचो र छोटो मार्गका रुपमा ल्होमन्थाङले आफ्नो परिचय बनाएको उल्लेख छ ।रासस