हिमाली क्षेत्रमा हुन सक्ने आगलागीप्रति सजकता अपनाउँदै रसुवामा कार्यरत सुरक्षा निकायले संयुक्त अभ्यास सम्पन्न गरेका छन् । रसुवा जिल्ला हिमाली क्षेत्र र बढी भीर भएका कारण आगलागी र डडेलो नियन्त्रणमा हम्मेहम्मे पर्ने विगतको अनुभवलाई मध्यनजर राख्दै छिटोछरितो सेवा प्रवाहका लागि जिल्लामा कार्यरत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले एकीकृत अभ्यासका दुई दिवसीय तालिम शनिबार सम्पन्न भएको हो । एकीकृत अभ्यासका लागि नेपाली सेनाबाट ३५ जना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका १०÷१० गरी ५५ जनाले एकीकृत अभ्यास तालिममा भाग लिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना विष्णुदल गणले संयुक्त अभ्यास गराएको हो । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको संरक्षित वन जङ्गल क्षेत्रभित्रका हिमाली पाखामा बढी भीरपाखो, बाक्लो बोट विरूवा एवं झाडीमा लाग्ने डडेलोले वर्षेनी ठूलो परिमाणमा नोक्सान हुँदै आएको छ । जसको न्यूनीकरण गर्न रसुवामा कार्यरत सुरक्षा निकायको योगदान अतुलनीय रहेको बताउँदै नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले आगामी दिनमा हुनसक्ने विपद् व्यवस्थापनमा सुरक्षा निकायको एकीकृत अभ्यासले तत्कालको समाधानमा ठूलो मद्दत पुर्याउनेमा आफू आशावादी भएको बताउनुभयो ।रासस