शैक्षिक स्रोत तथा विकास केन्द्र नेपालले गण्डकी प्रदेशअन्तर्गत छ जिल्लाका एक सय विद्यालयमा परीक्षणका रुपमा सिकाइ बाकस सञ्चालनमा ल्याएको छ । पुस्तक अभावमा विद्यार्थीहरु पढ्नबाट बञ्चित नहुन भन्ने उद्देश्यले सिकाइ बाकस सञ्चालनमा ल्याइएको हो । समयमै पाठ्यपुस्तक पु¥याउन नसकिएको खण्डमा त्यसको विकल्पमा अनलाइन तथा अफलाइनबाट सिकाइ बाकसमार्फत् विद्यार्थीलाई पठनपाठन गराइनेछ । कम्प्युटर र प्रोजेक्टरको सहायतामा तयार पारिएको यस्तो बाकसबाट अनलाइन नभएका अवस्थामा पनि विद्यार्थीलाई अध्यापन गराउन सकिने कार्यक्रमका प्रमुख अतिथि शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले जानकारी दिनुभयो । रोटरी क्लबको प्राविधिक तथा आर्थिक सहयोगमा विकास गरिएका सिकाइ बाकस आज कास्की, तनहुँलगायतका १४ सामुदायिक विद्यालयलाई प्रदान गरिएको छ । प्रतिविद्यालय एउटा बाकसका दरले वितरण गरिएको हो । एउटा सिकाइ बाकसको लागत रू एक लाख २५ हजार पर्ने र पाँच वर्ष टिकाउ हुनेछ । कक्षा १ देखि १२ कक्षासम्मका पाठ्यसामग्री उक्त सिकाइ बाकसमा समावेश छन् । पौडेलले शिक्षाको विकासका लागि सरकारले विद्यालयलाई कम्प्युटर दिएको धेरै वर्ष भएको र अधिकांश विद्यालयले प्रयोग नगरेको बताउनुभयो । “शिक्षकलाई चारदिने तालिमसहित सिकाइ बाकस दिएका छौँ यसको भरपुर प्रयोग गर्नुहोस्”, उहाँले भन्नुभयो । सिकाइ बाकस गण्डकी प्रदेशका छ जिल्ला कास्की, लमजुङ, तनहुँ, गोरखा, बागलुङ, पर्वत जिल्लाका एक सय विद्यालयलाई एक÷एक थान वितरण गरिनेछ ।रासस