कैलालीको जानकी गाउँपालिका–४ का श्रीराम कठरिया विगत आठ वर्षदेखि व्यावसायिक च्याउ खेतीमा व्यस्त हुनुहुन्छ । गाउँमा एक गैरसरकारी संस्थाले दिएको तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा लागू गर्दै सुरु गरेको उहाँको व्यवसायले आठ वर्षमा निकै ठूलो फड्को मारेको छ । श्रीरामको परिवार सबै त्यहीँ व्यवसायमा केन्द्रित भएको छ । घरको आर्थिक अवस्थाले पढाइलाई निरन्तरता दिन नसक्नुभएका श्रीरामले घरमा आफू सुत्ने कोठाको एउटा कुनामा रु छ हजारबाट च्याउ खेती सुरु गरेको सुनाउनुभयो । उक्त लगानीबाट उहाँले रु १५ हजार आम्दानी गर्नुभयो । त्यसपछि बिस्तारै बढ्दै गएको उहाँको व्यवसायमा यतिबेला रु ४० लाख खर्च भइसकेको छ । उहाँको फार्ममा अहिले दैनिक ३० देखि ४० किलोसम्म च्याउ उत्पादन हुन्छ । उहाँलाई बजारीकरणको कुनै समस्या छैन । च्याउका लागि मानिस घरमै पुग्छन् । मौसममा रु एक सय ५० प्रतिकिलो र बेमौसममा रु तीन सयदेखि चार सयसम्ममा बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ । मौसमी तथा बेमौसमी च्याउ उत्पादन गर्दै आउनुभएका श्रीराम कृषि विषयमा प्रमाणपत्र तह अध्ययन गर्दैगर्दा मासिक शुल्क तिर्न नसकेर भारत पुग्नुभयो । श्रीरामलाई अहिले पैसाका लागि पछाडि फर्किनु परेको छैन । व्यावसायिक च्याउ खेतीबाट मासिक रु एक लाख बचत गर्न थालेपछि श्रीरामका आमाबुबाको छोराले सरकारी जागिर खानुपर्छ भन्ने हिजोको हठ पनि हटेको छ । “आर्थिक अभावकै कारण पढाइ पूरा भएन, पढाइ गर्दा लागेको ऋण तिर्न भारतमा गएर नौ महिना काम गर्नुप¥यो”, श्रीराम भन्नुहुन्छ, “अब पैसाको अभाव छैन, सबै परिवारसँगै काम गर्छौं, सबै कामबाट सन्तुष्ट छौँ ।”रासस
