स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नेपाली जनताको विकास र समृद्धिको चाहना वर्तमान सरकारले पूरा गर्ने बताउनुभएको छ । पर्वतको महाशिला गाउँपालिका वडा नं ६ फलामखानीमा आयोजित बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै मन्त्री गिरीले मङ्सिर ४ मा भएको निर्वाचनले दिएको जनादेशअनुसारको सरकार निर्माण भएको बताउँदै यो सरकारको एउटै मात्र लक्ष्य विकास र समृद्धि भएको बताउनुभयो । मुलुकभित्र सञ्चालित भौतिक पूर्वाधारका काम समयमै सम्पन्न गर्न सरकारले सम्बन्धित निकायलाई ताकेता गरिरहेको बताउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै मन्त्रालयका सचिव र मातहतका कार्यालयका प्रमुखहरुलाई बोलाएर निर्देशन दिइसकेको बताउनुभयो । वर्तमान सरकार गठन भएको एक महिनामै अर्थतन्त्रमा सुधारका संकेत देखिएको उहाँको दाबी थियो । अब पुँजीगत खर्चको दायरालाई तीव्र रुपमा वृद्धि गरिने र अवरुद्ध भएका राष्ट्रिय गौरवलगायत महत्वपूर्ण योजनाको काम धमाधम हुने उहाँको जिकिर छ । सरकारले आर्थिक मितव्ययिता अपनाउन विभिन्न खालका निर्णय समेत गरिसकेको बताउँदै अर्थतन्त्रको विकासमा सरकारको मुख्य ध्यान गएको जनाउनुभयो ।