तराई र पहाडी जिल्लालाई सहज हुने गरी निर्माण गर्न लागिएको बुद्धसिं मार्गको संरचना निर्माण थालिएको छ । सङ्घीय सरकारबाट बजेट विनियोजन भएपछि सो मार्ग निर्माणका लागि संरचना बनाउन थालिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । पृथ्वी राजमार्गको विकल्पका रूपमा रहेको उक्त मार्ग कालोपत्रका लागि संरचना निर्माणको काम भइरहेको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी इन्जिनियर धनमाया मिश्रले जानकारी दिनुभयो । “दमौलीबाट सुढेसम्मको १० किलोमिटर सडक कालोपत्रका लागि बोलपत्र आब्हान भएको भयो, अहिले कालोपत्रका लागि संरचना निर्माणको काम भइरहेको छ”, मिश्रले भन्नुभयो, “वैकल्पिक मार्ग भएकाले प्रदेश सरकारले यो मार्गलाई प्राथमिकतामा राखेको छ ।” उक्त मार्ग कालोपत्रका लागि रु ३४ करोड २७ लाख ५४ हजार पाँच सय ६१ मा सम्झौता भएको छ । मैनाचुली सफल जेभी काठमाडौँले कालोपत्र गर्न विसं २०७९ भदौ २७ मा सम्झौता गरेको छ । सङ्घ सरकार र प्रदेश सरकारको समपूरक योजनामार्फत उक्त मार्गको कालोपत्र गरिनेछ । निर्माण कम्पनीले ३३ महिनामा कालोपत्र सम्पन्न गर्ने गरी सम्झौता भएको सूचना अधिकारी मिश्रले बताउनुभयो । यस मार्गलाई पूर्णता दिन तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने पुल निर्माण गर्नुपर्ने छ । यस मार्गअन्तर्गतको पुल निर्माणमा ढिलाइ भएको छ । गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको सो मार्गको घुमाउनेको उक्त मोटरेबल पुल सडक विभागअन्तर्गतको डिभिजन सडक कार्यालयको प्राविधिक सहयोगमा निर्माण गर्न लागिएको मिश्रले बताउनुभयो ।रासस