राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनीबजार जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतीको काम ठप्प बनेको छ । कालीगण्डकी नदीबाट निर्माण सामग्री उत्खनन गर्न नपाएपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको काम अलपत्र बनेको हो । पर्वतको कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गाबाट जलजला गाउँपालिका– ८, ७, ४ र ३ हुँदै बेनी जोड्ने सडक निर्माण सामग्रीको अभावमा काम रोक्नुपरेको निर्माण व्यावसायीले बताएका छन् । निर्माण कार्य रोकिएको चार महिनापछि चौतर्फी दबाबका कारण सुरु भए पनि सामग्री नहुँदा काम रोक्नुपरेको निर्माण कम्पनी ओमकारेश्वर जेभीका प्रतिनिधी अमृत दाहालले बताउनुभयो । सडकको धेरै ठाउँमा सबबेस र बेस बिच्छ््याउने अवस्थामा पुगेको तर क्रसर उद्योगका लागि चाहिने कच्चा पदार्थ नदीबाट निकाल्न नदिइएका कारण काम रोक्नुपरेको दाहालले जानकारी दिनुभयो । “सडकको क्षेत्रमा ढुङ्गा नै निस्कदैन, नजिकै बगेको नदीबाट निकाल्न स्थानीय प्रशासनले दिँदैन”, उहाँले भन्नुभयो, “सर्वोच्च अदालतले रोक लगाएको भन्दै सामग्री निकाल्न नपाएपछि गाडी र कामदार थन्क्याएर हिड्ने अवस्थामा पुगेको छौँ ।रासस