शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा भौतिक पूर्वाधार अभाव हुँदा दुई अलगअलग समयमा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । विद्यालयमा विद्यार्थीको चापअनुसार कक्षा कोठा नहँुदा बिहान ६ देखि १० बजेसम्म र १० देखि ४ बजेसम्म कक्षा सञ्चालन भइरहेका छन् । बिहानीको समयमा वन विज्ञान र कक्षा ११ तथा १२ का कक्षा सञ्चालन हँुदै आएका छन् । बिहान १० बजेपछि कक्षा १ देखि १० सम्मका कक्षा सञ्चालन हुने गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर बुढाका अनुसार विद्यालयमा ११ भवन रहेका छन् । त्यसमध्ये नौ पक्की र दुई जस्ता पाताको छाना भएका भवन छन् । “दुई पक्की भवनमा वन विज्ञान कार्यक्रमका छात्र र छात्राका लागि छुट्टाछुट्टै छात्रावासको प्रबन्ध मिलाएका छौँ”, उहाँले भन्नुभयो, “बाँकी नौवटा भवनका २२ कोठाहरुमध्ये कम्प्युटर ल्याब, पुस्तकालय, प्रयोगशाला, भण्डारण कक्ष, दिवा खाजा व्यवस्थापन, शिक्षक स्टाफ गरी १० कोठा प्रयोगमा रहेका छन्, बाँकी १२ कोठामा छात्रावासका थप चार गरी १६ कोठामा पठनपाठनको कार्य भइरहेको छ ।” कक्षा कोठाको अभावमा विद्यालयमा सञ्चालना रहेका बाल विकासका तीन कक्षालाई एउटै कोठामा राख्नु परेको उहाँले बताउनुभयो । आधारभूत तहका कक्षाका लागि आठ, माध्यमिक तहका लागि चार र तीनवर्षे वन विज्ञान शिक्षाका लागि तीन कक्षाकोठा प्रयोग भइरहेका छन् ।रासस