दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४५ वर्षीय वकी डाँगीको दिनचर्या बिहानको मिर्मिर उज्यालोदेखि बेलुकासम्म भैँसीका पाडापाडीको स्याहारसुसारमा बित्ने गरेको छ । छोटो समयमा व्यावसायिक भैँसीपालन गरेर एक सफल महिला उद्यमीका रुपमा आफूलाई चिनाउन सफल हुनुभएकी डाँगी सधैँ भैँसी स्याहारदेखि दूध बिक्रीवितरणको काममा व्यस्त देखिनुहुन्छ । आठ वर्षदेखि भैँसीपालन गर्दै आउनुभएकी डाँगीको परिवारमा अहिले दुईजना सदस्य पनि यहीँ पेशामा संलग्न हुनुभएको छ । साथै उहाँले आफ्नो फार्ममा स्थानीय दुईजनालाई रोजगारी समेत दिनुभएको छ । डाँगी पशुपालन पेसाबाट सन्तुष्ट हुनुहुन्छ । “वार्षिक रू सात लाख बचत गर्ने गरेकी छु, आम्दानी राम्रो भएपछि दैनिकी सहज भएको छ”, उहाँले भन्नुभयो । बिहानको मिर्मिरे उज्यालोसँगै उहाँको व्यस्तता सुरु हुन्छ । परम्परागत खेतीपाती गर्दै आएकी डाँगीले २०७० मा ‘शुभ भैँसी फार्म’ दर्ता गरी व्यावसायिक रुपमा भँैसीपालनको सुरुआत गर्नुभएको थियो । उहाँले भन्नुभयो, “सुरुमा रू एक लाखमा एउटा उन्नत जातको भैँसी खरिद गरी भैँसीपालन गरेका हाँै अहिले फार्ममा सानाठूला गरी ३८ वटा भैँसी छन् ।” तीमध्ये १० वटा दुहुना भैँसी छन् । उहाँका अनुसार दैनिक ८० देखि ९० लिटरसम्म दूध तुलसीपुर बजारमा रहेको आफैँले डेरी उद्योगबाट बिक्रीवितरण गर्नुहुन्छ । कोरोना महामारीका समयमा उत्पादित दूधले उचित बजार नपाउँदा केही घाटा बेहोर्नु परेको भएपनि अहिले भने बजारको कुनै समस्या नरहेको डाँगीले बताउनुभयो । “एक वर्षयता आफैँले तुलसीपुर बजारमा डेरी उद्योग सञ्चालन गरेका छौँ, दाङमा दूधको फुटकर मूल्य रू ९० र दहीको रू एक सय प्रति लिटर छ, अहिले आम्दानी राम्रै भएको छ”, उहाँले भन्नुभयो ।रासस