धौलागिरिमै पहिलोपटक कुशुमपुर रङ्ग भवन (नाटक घर) सञ्चालनको तयारी थालिएको छ । कला, संस्कृति र नदी सभ्यता जोगाउनका लागि यसका तयारी गरिएको हो । पर्वतको सदरमुकाम कुश्माका आरके अदिप्त गिरीको परिकल्पनामा शताब्दी घर मातहत ललितकलाका सम्पूर्ण विधालाई एकै थलोमा समेट्ने गरी नाटक घर बनाउने योजना अगाडि बढाउन लागिएको हो । कुश्मा बजारको माझगाउँस्थित तीन सय वर्ष पुरानो घरलाई मर्मतसम्भार गरी कलात्मक बनाउँदै गर्नुभएका गिरीले धौलागिरिमा पहिलोपटक नाटक घर निर्माण गर्न लाग्नुभएको हो । “कला, संस्कृति र सभ्यता नै हाम्रा सक्कली परिचय हुन् । यी नरहे हामी को हौँ भन्ने प्रमाण पनि रहँदैन । त्यसैले पछिल्लो पुस्ताले बिर्सिंदै गएको संस्कृतिको संरक्षण र पुस्तान्तरण गर्नु नाटक घरको उद्देश्य हो”, गिरीले भन्नुभयो । कला, संस्कृति, सभ्यता र सम्पदा समाजका अमूल्य पहिचान भएको उल्लेख गर्दै उहाँले यिनको संरक्षणका लागि कालीगण्डकी नदी बचाऔँ अभियान सञ्चालन गरेको बताउनुभयो । गिरी सो अभियानको संयोजकसमेत हुनुहुन्छ । शताब्दी घरको आँगनलाई खुल्ला कला डबलीका रुपमा विकास गरिने उहाँले बताउनुभयो । नेपाली पठन संस्कृतिलाई बढवा दिन पुस्तकालयको परिकल्पना गरिएको गिरी बताउनुहुन्छ । “कला, अनुसन्धान, खोजलगायत गर्न खोज्नेका लागि अतिथि आवास गृह बनाउँदै छौँ । साथै रङ्ग भवनलाई बहुप्रयोजनका रुपमा सञ्चालनमा ल्याइने छ”, उहाँले भन्नुभयो । नाटक घरमा कलाको आवासीय कक्षा ‘आफ्टर स्कुल पाठशाला’समेत सञ्चालन गर्ने योजना छ ।रासस