व्यावसायिक कृषिमा लागेका यहाँका किसानको आयस्तर बढेको छ । विगतमा व्यावसायिक धारणाको विकास नहुँदा खास आम्दानी लिन नसकेका कृषकको व्यावसायिक कृषिमा लागेसँगै आयस्तरमा सुधार भएको हो । यहाँका किसानले व्यावसायिकरुपमा तरकारी तथा नगदेबालीको उत्पादनबाट राम्रो आम्दानी लिन थालेका हुन् । स्थानीय तहले विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेपछि उनीहरुमा थप व्यावसायिक धारणाको विकास भएको छ । आन्तरिकरुपमा खपत हुँदै आएको यहाँका कृषिउपज अहिले बाहिरका बजारमा समेत पुग्ने गरेको किसानको भनाइ छ । यातायातको सहज पहँुचले यहाँका किसानलाई कृषिउपजको बजारीकरणमा सहजता थपिएको छ । किसानले प्लाष्टिक टनेलमा खेती गरेर मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएका छन् । उत्पादन भएको तरकारीको बेचबिखन गर्न समस्या नरहेको व्यावसायिकरुपमा तरकारीखेती गर्दै आउनुभएका भोजपुर नगरपालिका–११ का किसान यामबहादुर तामाङले बताउनुभयो । उहाँले आफ्नो बारीमा प्लाष्टिक टनेलमा व्यावसायिकरुपमा तरकारीखेती गर्दै आउनुभएको छ । “व्यावसायिकरुपमा कृषि गरेमा राम्रो आम्दानी लिन सकिन्छ”, कृषक तामाङले भन्नुभयो, “मैले उत्पादन गरेको तरकारीको बजारीकरणमा समस्या छैन, केही तरकारी स्थानीय बजारमा बिक्री हुन्छ, यहाँ खपत नभएको तरकारी अन्य जिल्लामा समेत पठाउने गरेको छु, तरकारीबाट वार्षिक रु छ लाखसम्म आम्दानी लिन्छु ।रासस