मालपोत कार्यालय बुर्तिबाङमा पनि कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ । बाह्र स्थायी कर्मचारी दरबन्दी रहे पनि हाल चार जनामात्रै कार्यरत छन् । मालपोत अधिकृत कार्यालय प्रमुख हुने व्यवस्था भए पनि सुब्बाका भरमा कार्यालय सञ्चालनमा छ । मालपोत एक अधिकृत, तीन नायब सुब्बा, तीन खरिदार, एक लेखापाल, एक कम्प्युटर अपरेटर र तीन कार्यालय सहयोगीको दरबन्दी रहेकामा हाल दुई नायब सुब्बा, एक कम्प्युटर अपरेट र एक लेखापाल मात्र कार्यरत छन् । नायब सुब्बा सूर्यप्रसाद शर्मा कार्यालय प्रमुख हुनुहुन्छ । यहाँ वर्षौँदेखि मालपोत अधिकृत पद रिक्त छ । कर्मचारी न्यून हुँदा सेवाग्राहीलाई चाहेर पनि छिटो सेवा प्रदान गर्न नसकेको शर्मा बताउनुहुन्छ । उहाँ एक वर्षदेखि यहाँ कार्यरत हुनुहुन्छ । दैनिक सयौँका सङ्ख्यामा सेवाग्राही आउने गरेको र उनीहरूलाई घण्टौँ लाइनमा कुराउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । सम्बन्धित निकायमा पटक–पटक कर्मचारी पठाउन माग गरे पनि अहिलेसम्म सुनुवाइ नभएको शर्मा बताउनुहुन्छ । निसीखोला–६ बाट घरजग्गा नामसारीका लागि मालपोत आउनुभएका भोजबहादुर घर्तीले दुई दिन कुर्दा पनि काम बन्न नसकेको गुनासो पोख्नुभयो । कामका लागि लाइनमा पालो कुर्दाकुर्दै घण्टौँ बित्ने तर साँझसम्म पनि काम बन्ने उहाँ बताउनुहुन्छ । घर्तीमगर भन्नुहुन्छ, “सरकारलाई सधैँ खुरुखुरु कर तिर्छौँ, सेवा लिन जाँदा दुई–तीन दिन लगाइदिने, हामीले सधैँ दुःखमात्रै पाउँछौँ, पहिले–पहिले बागलुङ पुग्दा उस्तै दुःख हुन्थ्यो, अहिले बुर्तिबाङबाट सेवा सुरु भएपछि केही राहत मिल्ला भनेको उस्तै छ ।” वन डिभिजन कार्यालय, मालपोत कार्यालय बागलुङलगायत जिल्लाका विभिन्न पालिकामा पर्याप्त जनशक्ति छैन । कर्मचारी तोकिएको कार्यक्षेत्रमा नजाँदा समस्या भएको हो ।रासस