राष्ट्रिय गौरवको आयोजनामध्येको मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत जिल्लाको भूमे गाउँपालिका–१ पातिहाल्ने–लुकुम खण्डको काम अलपत्र भएको छ । तेह्र किलोमिटर लामो रहेको पातिहाल्ने–लुकुम खण्डको कालोपत्र तयारीको काम अलपत्र परेको हो । आर्थिक वर्ष २०७२/७३ मा कालोपत्र तयारी कामका लागि लागेको ठेक्का पछिल्लो डेढ वर्षदेखि अलपत्र अवस्थामा छ । कालोपत्रका लागि जिम्मा पाएको सिद्धिशाही प्रकाश कन्स्ट्रक्सन प्रालि सम्पर्कविहीन भएपछि उक्त खण्डको काम अलपत्र अवस्थामा पुगेको हो । कालोपत्रका लागि ठेक्का पाएको निर्माण व्यवसाय डेढ वर्षदेखि सम्पर्कविहीन बन्दा यस खण्डको काम अघि बढ्न नसकेको मध्यपहाडी लोकमार्ग योजना कार्यालय दैलेखका इञ्जीनियर हुमनाथ पौडेलले जानकारी दिनुभयो । यस खण्डमा कालोपत्रका लागि रु ३८ करोड हाराहारीमा बजेट विनियोजन गरिएको थियो । उक्त बजेटबाट हाल रु ३० करोड हाराहारी काम भएको पौडेलको भनाइ छ । रु ३० करोड बजेट खर्च हुँदा ८२ प्रतिशत काम भएको इञ्जीनियर पौडेलले बताउनुभयो । कालोपत्रका लागि ग्राभेल, नाली कटिङ, ग्यावियन तथा जाली हाल्ने काम अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो । कामको जिम्मा पाएको ठेकेदार सम्पर्कविहीन भएपछि मध्यपहाडी लोकमार्ग योजना कार्यालय दैलेखले ठेक्का तोड्न सूचना प्रकाशन गरेको थियो । उक्त सूचना प्रकाशन भएपछि सिद्धिशाहीका ठेक्का साझेदारी निर्माण व्यवसाय खिन्टी महादेव कन्स्ट्रक्सन सम्पर्कमा आएको इञ्जीनियर पौडेलले जानकारी दिनुभयो । समयमै काम सम्पन्न गर्न नसकेपछि विभिन्न मितिमा तीनपटकसम्म म्याद थप गरिसकिएको छ । अहिले चौथोपटक आउँदो असार मसान्तसम्मका लागि म्याद थप गरिएको छ ।रासस