नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री राजेन्द्रकुमार केसीले पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्ने बताउनुभएको छ । नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घको दोस्रो राष्ट्रिय महासङ्घको आज उद्घाटन गर्दै काठमाडौँ क्षेत्र नं १० का सांसदसमेत रहनुभएका नेता केसीले साधारण चालकभन्दा पेट्रोलियम पदार्थ बोक्ने सवारी चालकको पेसा संवेदनशील र जोखिमपूर्ण भएकाले यस पेसाप्रति राज्य संवेदनशील बन्नुपर्ने बताउनुभयो । “पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालकलाई परेको अप्ठ्यारो सहज बनाउन आवश्यक विनियमावली निर्माणका लागि म सम्बन्धित निकायसँग छलफल गर्छु”, उहाँले भन्नुभयो । नेपाल आयल निगमका कार्यकारी निर्देशक इञ्जिनियर उमेश थानीले मुलुकमा सङ्कट परेको समयमा पेट्रोलियम ट्याङ्कर चालकले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो । “म आयल निगमको कार्यकारी निर्देशक हुनुभन्दा पहिले पेसागत हक, हितका क्षेत्रमा लड्दै आएको व्यक्ति हुँ, चालकको समस्या समाधानका लागि म सकारात्मक छु”, उहाँले भन्नुभयो ।