सिरहाको लहान बजारमा व्यवस्थित ढल निकास नहुँदा स्थानीयहरु समस्यामा परेका छन् । बजार क्षेत्रबाट बग्ने ढल कतै भत्किने त कतै जाम पर्ने समस्याले फोहोर पानी घरभित्र पस्न थालेपछि स्थानीय समस्यामा परेका हुन् । ढल निकास थुनिएर सार्वजनिक बाटोमा फोहोर जम्मा हुँदा आवतजावत गर्दा नाक थुनेर हिँड्नु पर्ने अवस्था रहेको लहान नगरपालिका-८ का सत्यनारयण चौधरीको भनाइ छ । “ढल निकासको उचित व्यवस्था नहुँदा बारम्बार बजार क्षेत्रको फोहोर पानी घरभित्र पस्ने गरेको छ र यसले निकै दुःख दिएको छ ।” ढल निकासका लागि नगरपालिकालाई पटक-पटक आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको स्थानीयको गुनासो छ । इलाका प्रशासन कार्यालय ग्रामीण चोकदेखि जम्मा हुँदै आएको ढल दक्षिण तिर हुलाकको बाटो हुँदै पूर्व पश्चिम महेन्द्र राजमार्ग आइपुग्दा ढलको नाली जाम भइ बीच बजार जलमग्न भएको छ । कञ्चनपुर-कर्जना सडकखण्ड अन्तर्गत चार लेनको बाटो बिस्तारका क्रममा चाइना रेलवे कम्पनीले लहान बजारमा कलभर्ट बनाउने क्रममा तत्कालका लागि ढल निकासामा समस्या आएको लहान नगरपालिका-७ का वडाअध्यक्ष राम औतार शर्माको भनाइ छ ।रासस