स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले जस्तोसुकै रोगको उपचार पनि नेपालमै गर्ने गरी स्वास्थ्य क्षेत्र सुधार गर्ने बताउनुभएको छ । पर्वतको कुश्मा नगरपालिका-११ पकुवामा रहेको स्थानीय बीरेन्द्र माध्यमिक विद्यालयको आइसिटी कक्षाको आज उद्घाटन उहाँले नेपालको स्वास्थ्य क्षेत्रमा थुप्रै खालका जटिलता रहेको र अब आफूले यसको सुधारमा लाग्ने बताउनुभयो । मन्त्री गिरीले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानमा केन्द्रित हुने स्पष्ट पार्नुभयो । “जस्तोसुकै रोगको उपचार पनि नेपालमै गर्न सकिने गरी स्वास्थ्य क्षेत्रको सुधार आवश्यक छ”, उहाँले भन्नुभयो, “यसका लागि नीतिगत, कानुनी तथा प्राविधिक विषय सच्याएर अघि बढ्नुपर्छ ।” नेपालका ठूला अस्पतालको क्षमता विस्तार तथा ग्रामीण क्षेत्रमा रहेका अस्पतालको भौतिक पूर्वाधार, जनशक्ति र आवश्यक स्वास्थ्य उपकरणको उपलब्धतालाई ध्यान दिइने पनि बताउनुभयो । दक्ष जनशक्ति ग्रामीण क्षेत्रमा बस्न नचाहने समस्याले पनि गाउँका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा उपभोग गर्न नपाएको बताउँदै अब हरेक सरकारी चिकित्सकलाई न्यूनतम समय तोकेर दूरदराजका स्वास्थ्य संस्थामा परिचालन गरिने पनि बताउनुभयो । स्वास्थ्य मन्त्रालय संवेदनशिल मन्त्रालय भएको बताउँदै उहाँले हरेक वर्ग र समूदायका नागरिक उपचार नपाएर अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।रासस