बडिगाड गाउँपालिकामा क्षयरोगीका बिरामी बढ्दै गएका छन् । पछिल्लो पाँच महिनायता बडिगाड गाउँपालिकामा ३६ जनामा क्षयरोग पहिचान भएको छ । अघिल्लो आर्थिक वर्षमा जिल्लाभरी एक सय ८५ जनामा सङ्क्रमण देखिएको थियो । तीमध्ये ५६ जना बडिगाड गाउँपालिकाकै थिए । साउनयता गरिएको परीक्षणमा जिल्लाभर ८७ जना नयाँ सङ्क्रमित पहिचान हुँदा बडिगाडका मात्रै ३६ जना रहेको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । अघिल्लो वर्ष पहिचान भएकामध्ये केही नियमित औषधि सेवनपछि सङ्क्रमणमुक्त भएका छन् । “अन्य पालिकामा सङ्क्रमित सङ्ख्या घटे पनि बडिगाडमा सङ्मितको सङ्ख्यासँगै मृत्युदरसमेत बढेकोे छ”, घिमिरेले भन्नुभयो । गत आर्थिक वर्षमा जिल्लाभर छ जना क्षयरोगका बिरामीको मृत्यु हुँदा बडिगाडका चार जना थिए । स्वास्थ्य कार्यालयले गरेको नमूना परीक्षणमा बडिगाडमा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो भेटिएपछि गाउँपालिकाले सक्रिय खोजपड्ताल विधिद्वारा बिरामी पहिचान थालेको थियो । पालिकाले सञ्चालन गरेको क्षयरोगी पहिचान कार्यक्रमअन्तर्गत आठ जना बिरामी फेला परेको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपेन्द्र केसीले जानकारी दिनुभयो ।रासस