बागलुङस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको कार्यक्षेत्र तीन जिल्ला हो । यहाँ कर्मचारी दरबन्दी पनि तीन जना नै छ । विसं २०७४ मा स्थापना भएको उक्त कार्यालयमा केही महिना आगाडिसम्म दुई कर्मचारीले मात्रै काम गर्दै आएका थिए । डेढ महिनाअघि एक जना थपिनुभएको छ । कार्यालय स्थापना हुँदा एक खाद्य अनुसन्धान अधिकृत र दुई प्राविधिक सहायकको दरबन्दी स्वीकृत थियो । पाँच वर्षपछि मात्रै यहाँ दरबन्दी परिपूर्ति भएको छ । तर यो दरबन्दी तीन जिल्ला कार्यक्षेत्र भएको कार्यालयका लागि न्यून हो । डेढ महिना अघिसम्म एक अधिकृत र एक प्राविधिक सहायकको भरमा सञ्चालन भएको सो कार्यालयमा हाल तीन कर्मचारी छन् । एक जना थपिएपछि केही सहज भए पनि तीन जिल्लामा काम गर्न समस्या भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख सौरभ श्रेष्ठ बताउनुहुन्छ । “कर्मचारी न्यून हुँदा सेवा प्रवाहमा समस्या भएको छ”, उहाँले भन्नुभयो । साविक धवलागिरि अञ्चलको बागलुङ, म्याग्दी र मुस्ताङ गरी तीन जिल्ला यसको कार्यक्षेत्र हो । श्रेष्ठ भन्नुहुन्छ, “सबै ठाउँमा पुग्नुपर्छ, अनुगमन र अन्य कार्यक्रम गर्नुप¥र्यो, कार्यालयमा तीन जना छौँ, सबै जना फिल्डमा जाँदा कार्यालय रित्तै हुन्छ, सेवाग्राहीलाई समस्या भएको छ ।” भौगोलिक हिसाबले दुर्गम बागलुङ, म्याग्दी र मुस्ताङमा अनुगमन गर्न जटिल हुने गरेको श्रेष्ठको भनाइ छ । खाद्यवस्तुको गुणस्तर, बजार अनुगमन तथा अखाद्य वस्तुलाई बिक्री वितरणमा रोक्ने काम आफूहरूले गर्नुपर्ने हुँदा कर्मचारी थप हुन जरुरी रहेको उहाँ बताउनुहुन्छ । “थारै जनशक्ति हुँदा धेरै ठाउँमा पुग्न समस्या भएको छ”, श्रेष्ठले भन्नुभयो । कर्मचारी कम हुँदा अनुज्ञापत्र जारी तथा नवीकरणमा समस्या भएको छ । प्रत्येक जिल्लामा कम्तीमा दुई कर्मचारी अनिवार्य भएको उहाँ बताउनुहुन्छ ।रासस