साकेला गाउँपालिकामा अरुण तेस्रो जलविद्युत आयोजनाको प्रशारणलाइनका लागि टावर निर्माण गर्नेक्रममा अधिग्रहण गरिएका जग्गाका धनीलाई मुआब्जा वितरण सुरु गरिएको छ । सङ्खुवासभामा निर्माणाीधन चार सय केभी क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रशारणलाइनको टावर निर्माणका लागि खोटाङका साकेला र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा जग्गा अधिग्रहण गरिएको थियो । गत कातिकदेखि साकेला गाउँपालिकाभित्रका ३० जना जग्गाधनीलाई मुआब्जा वितरण गरिसकिएको आयोजनाका खोटाङ प्रमुख अमृत कार्कीले बताउनुभयो । “साकेलाका ८० जना जग्गाधनीलाई मुआब्जा वितरण गर्ने योजना छ”, उहाँले भन्नुभयो, “वडा नं १ बाँझेच्यानडाँडाका २९ जना, वडा नं २ रतन्छाका २० जना, सवडा नं. ४ मात्तिमका १२ जना र वडा नं. ५ मात्तिम मानेभञ्ज्याङका १९ जनाको जग्गा अधिग्रहण गरेबापत मुआब्जा वितरण गर्ने निश्चित भएको छ ।” साकेला गाउँपालिकामा आयोजना टावरको फाउण्डेसन रहने स्थानका ९२ कित्ता निजी र चार कित्ता सरकारी जग्गा अधिग्रहण गरिनेछ । जग्गा अधिग्रहणमा परेका अधिकांश जग्गाधनी बाहिरी जिल्ला बसोबास गर्ने भएकाले मुआब्जा वितरणमा ढिलाइ भएको आयोजनाले जनाएको छ । जग्गाधनीले मुआब्जा लिएका क्षेत्रमा टावर निर्माणको कामसमेत शुरु गरिएको आयोजनाका खोटाङ प्रमुख कार्कीले बताउनुभएको छ । खुवासभाबाट भोजपुर हुँदै खोटाङको साकेला गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट उदयपुरको ढल्केबर जोडिने अरुण तेस्रोको प्रशारणलाइनका लागि साकेला र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका करिब ६.४ हेक्टर जग्गा अधिग्रहण हुनेछन् ।रासस