माघ दोस्रो साता लागेसँगै पारिलो घाम लाग्न थालेपछि त्यसअघिको बाक्लो हुस्सु र चिसो स्याँठको मुटु कमाउने जाडोबाट राहत मिलेको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा गत आइतबारयता बिहानै घाम लागेर आङ तात्दै गए पनि सर्वसाधारण किसान भने मन खुलाएर खुसी छैनन् । यसपाली पानी नै नपरी हिउँद सकिन लागेपछि किसानमा खुसी छाउन नसकेको हो । हिउँदे वर्षा नहुँदा खेतबारीका बालीका बिरुवा क्रकँदै गएको हेरेर चित्त बुझाउनुपरेको किसानको भनाइ छ । “ल हेर्नोस्, अब पारिलो घाम लागेर जिउ त तात्न थाल्यो, बाक्लो हुस्सु फाटेर झलमल्ल उज्यालो देखिँदा खुसी नै हुनुपर्ने हो”, बलवा नगरपालिका–१० धमौराका ७० वर्षीय वासुदेव पासवानले भन्नुभयो, “यसपाली पानी नपरी हिउँद बित्यो, आउने दिन खुसीका हुने छैनन् ।” हिउँदे वर्षा नहुँदा बालीनाली हुर्कंन नसकेको र अब चाँडै पानीका मुहान सुक्दै जाने पासवानले चिन्ता व्यक्त गर्नुभयो । हिउँदे वर्षा जमिन भिजाउने मात्र नभई बालीनालीका लागि अत्यन्त पोषिलो हुने यहाँका पाका किसान बताउँछन् । भर्खरै हुर्कंदै गरेका वैशाखी लहरे तरकारी, उखु, अन्नबालीमा गहुँ र आँपसहितका फलका रुख हिउँदे वर्षा पाएपछि लहलहाउने पाका किसानको अनुभव छ । यसपाली वर्षा नै नभई हिउँद बित्दै गएपछि यी बालीबाट अपेक्षित उत्पादन लिन नसकिने चिन्ता बढेको भङ्गाहा नगरपालिका–४ पलारका ७५ वर्षीय किसान चौठी बाँतर बताउनुहुन्छ । हिउँदमा पानी नपरेपछि खानेपानीका स्रोत इनार, चापाकल पनि गर्मी चढेसँगै चाँडै सुक्ने गरेका छन् । भङ्गाहा–४ कै रामनगरका ८० वर्षीय किसान रामनन्दन महतो यसपाली हिउँदमा पानी नपरी माघ दोस्रो साता लागेसँगै घाम चर्कंदै गएको हुँदालगत्तै खानेपानीको हाहाकार पर्नसक्ने बताउनुहुन्छ ।रासस