काठमाडौँस्थित भारतीय राजदूतावासमा आज भारतको ७४औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रमको शुभारम्भ गरिएको हो । कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले राष्ट्रका नाममा गर्नुभएको सम्बोधन पढेर सुनाइएको थियो । सम्बोधनमा राष्ट्रपति मुर्मूले विश्वव्यापी आर्थिक अनिश्चितताका बाबजुद गान्धीजीको ‘सर्वोदय’ वा ‘सबैको उत्थान’को आदर्शलाई हासिल गर्न भारतले आर्थिक क्षेत्रमा गरेको उत्साहजनक प्रगतिको चर्चा गर्नुभएको छ । साथै उहाँले जी–२० मा भारतले पाएको अध्यक्षता सिङ्गो विश्व र भविष्यलाई अझ राम्रो बनाउन प्रजातन्त्र र बहुपक्षीयतालाई प्रवद्र्धन गर्ने अवसर भएको उल्लेख गर्नुभयो । कार्यक्रममा राजदूत श्रीवास्तवले भारतीय सेनामा कार्यरत मृतक नेपालीका परिवारलाई रु चार करोड ६० लाख नगद र कम्बल वितरण गरी सम्मान गर्नुभएको थियो । सो अवसरमा राजदूत श्रीवास्तवले नेपालका विभिन्न संस्थालाई पुस्तक वितरण गर्नुभयो । दूतावासले विभिन्न २३ संस्थालाई रु १६ लाख बराबरको पुस्तक उपहास्वरुप वितरण गर्ने जनाएको छ ।रासस