श्रीपञ्चमीका दिन मुलुकभरका सरस्वती मन्दिरमा भिड बढिरहँदा सदरमुकाम नजिकै रहेको भोजपुर नगरपालिका–१२ टक्सारको सरस्वती गुफा भने आधुनिकतासँगै यसको महत्व नबुझ्दा ओझेलमा परेको छ । सदमुकामदेखि आघा घण्टाको दूरीमा रहेको टक्सारको सरस्वती गुफा अहिले आएको आधुनिक जीवनशैली र विकसित प्रविधिले ओझेलमा पर्दै गएको हो । सरस्वती गुफामा बसेर सात दाना अक्षता नचपाइ निल्दा बुद्धि बढ्ने विश्वास विगतमा रहे तापनि हाल यसको महत्व कम हँुदै गएको स्थानीय बुद्धिजीवीको भनाइ छ । विगतमा साना बालबालिकालाई अक्षर चिनाउनका लागि सरस्वती पूजाका दिन यही गुफामा लगिने गरिएको भए पनि अहिले भने सो परम्परालाई निरन्तरता दिन छाडिएको स्थानीय सानुकाजी शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “ढुङ्गाले बनेको गुफाको भित्र भागमा सरस्तीको पूर्ण आकृति भएको ढुङ्गासमेत रहेको छ, यही कारण पनि यो गुफाको महत्व देखिएको छ ।” विसं १९९० को भूकम्पअघिसम्म भोजपुर सदरमुकाममा रहेको प्रसिद्ध सिद्धकाली मन्दिरमा रहेको शिवथानबाट भित्रभित्र हुँदै साँधुहरु टक्सारको सोही सरस्वती गुफाबाट बाहिर निस्कने गरेको भनाइ अहिले पनि टक्सारका बुढापाकाबाट सुन्न पाइन्छ ।रासस