स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला पर्वत आउनुभएका पदम गिरीले अबको पाँच वर्षभित्र जिल्लाभित्र रहेका सबै वडा कालोपत्र सडकले छुने बताउनुभएको छ । जन्मगाउँ पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गिरीले अबको पाँच वर्षभित्र कालोपत्रले नछोएको वडा एउटा पनि नहुने बताउनुभएको हो । “लेखेर राख्नुस्, भिडियो बनाउनुस् अबको पाँच वर्षभित्र पर्वतका सबै वडामा कालोपत्र सडक पुग्छ”, उहाँले भन्नुभयो, “अहिले पनि धेरै काम भएको छ तर अब बाँकी काम पूरा गरेरै छाड्छौँ ।” अब दिन गनेर काम गर्ने बताउनुभयो । “अबको पाँच वर्षभित्र सातवटै पालिकामा सुविधासम्पन्न अस्पताल बनाइने छ सबै पालिकामा आवश्यकताअनुसार डाक्टर, नर्स, स्वास्थ्यकर्मीसहितको न्यूनतम सेवा अनिवार्य उपलब्ध हुनेछ ।” उहाँले केपी शर्मा ओली सरकारका पालामा ल्याएको स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी र व्यवस्थित बनाउँदै लग्ने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “अब कोही पनि मानिस औषधि नपाएर, उपचार नपाएर मर्ने स्थिति हुनु हुँदैन, स्वास्थ्य बीमा थप प्रभावकारी बनाउँदै सबै घरमा पुरायाउनुपर्छ ।” त्यो स्थितिको अन्त्य गर्न स्वास्थ्यजस्तो संवेदनशील मन्त्रालयको जिम्मा लिएको उहाँको भनाइ छ ।रासस