लुम्बिनी तथा यस आसपास आउने धार्मिक पर्यटकलाई लक्षित गरी भैरहवा नजिकै शक्तिपिठ स्थापनाको काम अघि बढाइएको छ । नेपालका प्रथम जगदगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजको पहलमा जगद्गुरुपीठ निर्माणका लागि श्रीमद्भागवत सप्ताहज्ञान महायज्ञ आज सम्पन्न भएको छ । ओमसतिया गाउँपालिका-४ वसन्तपुरमा रहेको नवदुर्गा मन्दिरलाई बालसन्त मोहनशरण देवाचार्यले चौँथो शक्तिपिठका रुपमा स्थापना गर्ने उद्देश्यसहित महायज्ञको आयोजना गरिएको महायज्ञमूल आयोजक समितिका संयोजक विष्णु रायमाझीले बताउनुभयो । सुनसरीको चतराधाममा विसं २०५९ मा महाकुम्भ मेला प्रारम्भ गरी धार्मिक, सांस्कृतिक र वेदका आधारमा विश्व माझ नेपालमा कुम्भ मेला स्थापित गराउन सफल महाराजले यहाँ जगदगुरु दक्षिणपीठको स्थापना गर्न लागेको उहाँको भनाइ छ । पूर्वमा चतराधाम बराहक्षेत्रमा प्रथम जगद्गुरुपीठ, दोस्रो शारदापीठ महाकाली, तेस्रो निलाद्रीपीठ मुक्तिनाथ क्षेत्र जोमसोम स्थापना भइसकेको र चौँथो भैरहवापीठ स्थापना हुनेछ । यो पीठ जगदगुरुको अन्तिम पीठ हुने रायमाझीले बताउनुभयो । महायज्ञमा रेडियो नेपालका पूर्व निर्देशक एवं धार्मिक कार्यक्रमका ख्याति प्राप्त विद्वान आचार्य पुुरुषोत्तम सापकोटा र कथा प्रवचन एवं भागवताचार्य कथा व्यास डा. यादवशरण गड्तौलाका मुखारविन्दबाट पाठ-पारायण भइरहेको महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।रासस