समाजसेवी दिनबन्धु गोयलले दाजु स्वर्गीय ओमप्रकाश गोयलको स्मृतिमा माझी र राजवंशी समूदायका १२ परिवारलाई घर निर्माण गर्ने हुनुभएको छ । उहाँले झापाको भद्रपुर नगरपालिका–६ मा बसोबास गर्ने १० माझी र दुई राजवंशी परिवारका लागि घर निर्माण सुरु गर्नुभएको हो । आज एक कार्यक्रमकाबीच भद्रपुर नगरपालिका नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की र नगरपालिका-६ का वडाध्यक्ष रतिया राजवंशीलगायतले घरको शिलान्यास गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख पोखरेलले विपन्न समुदायको घर निर्माण सुखद भएको बताउँदै दाताप्रति आभार व्यक्त गर्नुभयो । “भद्रपुरको शैक्षिक क्षेत्रमा उहाँले धेरै काम गर्नुभएको छ”, उहाँले भन्नुभयो, “सामाजिक कार्यमा पनि उहाँ निरन्तर सक्रिय हुनुहुन्छ ।” उपप्रमुख कार्कीले सबै नागरिकले आ-आफ्नो ठाउँबाट सकेको सामाजिक कार्य गर्नुपर्नेमा जोड दिनुभयो । टिनको छाना भएका दुई कोठा बरण्डासहितको घरको लागत प्रतिघर रू पाँच लाख पर्ने भद्रपुर वडा नं ६ का वडा सचिव हरिप्रसाद चम्लागाईंले जानकारी दिनुभयो । कार्यक्रममा वडाध्यक्ष राजवंशीले घर निर्माण भए पनि शौचालय र शुद्ध खानेपानीको अभाव भएकाले सोको व्यवस्था गर्न नगरप्रमुखसँग आग्रह गर्नुभयो । कार्यक्रममा दाता परिवारका तर्फबाट विनय गोयल, भद्रपुर नगरपालिका निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठ, भद्रपुर-४ का वडाध्यक्ष हङ्शधर राजवंशी, कार्यपालिका सदस्य सन्ध्याकुमारी डङ्गोल, टोल विकास संस्थाका अध्यक्ष महललाल राजवंशी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।रासस