आन्तरिक राजस्व सङ्कलन सन्तोषजनक नरहेको भन्दै विराटनगर महानगरपालिकाले राजस्व वृद्धिका लागि विभिन्न उपाय आवलम्बन गरेको छ । महानगरपालिकाले राजस्व बढोत्तरीका लागि घरदैलोमा नै पुगेर करदाता शिक्षा अभियान जारी राखेको छ । सचेतनाका लागि जनप्रतिनिधि एवं महानगरपालिकाका सम्बन्धित शाखाका कर्मचारी खटिएका छन् । अभियानको शुभारम्भ गत मङ्सिर २९ गते नगर प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीले करदाता शिक्षा अभियानको शुभारम्भ गर्नुभएको थियो । विराटनगरको उत्तरी सिमाना खारजी कोहवराबाट करदाता शिक्षा अभियानको सुरूआत गरिएको थियो । महानगरपालिकाको वडा नं २ मा जनप्रतिनिधि र कर्मचारीले घर, पसल तथा कारोबार स्थलमा नै पुगेर वडावासीलाई कर तिर्नुपर्ने दायित्वबारे शिक्षा प्रदान गर्नुभयो । महानगरपालिकाले करदाता शिक्षा र कर तिरेको वा नतिरेका बारे नियमन गर्ने उद्देश्यका साथ वडा नं २ मा मङ्गलबारदेखि अभियान थालेको हो ।रासस