व्यक्तिगत हकको संरक्षण गर्दै सर्वसाधारणको सूचनामाथिको पहुँचलाई वडा तहसम्म पुरायाउनुपर्ने सरोकारवाला बताउछन् । राष्ट्रिय सूचना आयोगले मङ्गलबार विराटनगर महानगरपालिकामा आयोजना गरेको ‘सूचनाको हकमा महिला सशक्तिकरण’ विषयक एक दिने अन्तरक्रिया कार्यक्रममा पालिका देखि वडास्तरसम्म सूचनाको हकसम्बन्धी जानकारी पुरायाउनु अनिवार्य रहेको सूचना आयुक्त कमला ओली थापाले बताउनुभयो अझै पनि शारीरिक र मानसिक हिंसा, थिचोमिचो र कुटपीटका साथै आर्थिक एवं सामाजिक हिसाबले महिलालाई पछाडि पार्ने प्रवृत्ति रहेकाले महिलाको आत्मबल बढाउन घरभित्रैबाट सशक्तिकरणसम्बन्धी अभियान थालनी गर्नुपर्ने आयुक्त थापाले बताउनुभयो । उहाँले सूचनाको हकले सबै चनाखो बन्ने र सबैको साझा विषय भएकाले सूचना प्रवाहलाई खुला र पारदर्शी बनाउनुपर्ने बताउनुभयो । उहाँका अनुसार पुरुषसरह महिलालाई पनि सूचना आवश्यक पर्ने भएकाले सूचनालाई महिला सशक्तिकरणसँग जोडेर कार्यक्रम सञ्चालन गरिएको हो । विभिन्न घट्नामा परेका महिलाले न्यायिक उपचारका लागि कहाँ जानुपर्ने, अदालत कहाँ छ, कोसँग बोल्ने, के अधिकार माग्ने भनेर थाह पाउनैपर्ने भएकाले यस्ता कुरा सूचनाको हकसँग जोडिएको आयुक्त थापाको भनाइ छ । उहाँले राज्यले महिलाका लागि प्रदान गरेको थुप्रै सुविधाको बारेमा जानकार हुन सूचनाको हक अपरिहार्य रहेको बताउनुभयो ।रासस