बागलुङको एउटै गाउँपालिकाबाट पछिल्लो पाँच महिनामा ५८ परिवार बसाइँ सरेका छन् । जिल्लाको काठेखोला गाउँपालिकाबाट पाँच महिनाको अवधिमा ५८ परिवारका दुई सय २१ जना सदस्य बसाइँ सरेका हुन् । गाउँपालिकाले तयार गरेको तथ्याङ्कअनुसार गत साउनदेखि पुस मसान्तसम्म अन्य व्यक्तिगत घटनाभन्दा बसाइँ सर्नेको तथ्याङ्क धेरै छ । आठ वटा वडा रहेको गाउँपालिकामा सबैभन्दा धेरै वडा नं ५ बिहुँबाट बसाइँ सरेर बाहिर गएको गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले बताउनुभयो । बिहुँबाट मात्रै पाँच महिनामा २२ परिवारका ८४ जना सदस्यले गाउँ छोडेका छन् । वैदेशिक रोजगारीमा रहेका र उच्च शिक्षाका लागि विदेशमा रहेका युवाको परिवार धेरै बसाइँ सरेका छन् । वडा नं ६ बिहुँबाट पनि बसाइँ सर्नेको सङ्ख्या उच्च छ । यो वडाबाट पाँच महिनामा ११ परिवारका ४३ सदस्य बसाइँ सरेको तथ्याङ्क छ । गाउँपालिकाबाट बसाइँसराइ लिएर जानेबाहेक थातथलो छोडेर अन्यत्रै बस्नेको सङ्ख्या पनि उच्च छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले फन्को मारेको साविकको बिहुँ गाविस (हाल वडा नं ५ र ६) मा सदरमुकामदेखि छोटो दूरीका वडा हुन् । यहाँ सडक सुविधा छ । दुई वटा सामुदायिक क्याम्पस, विद्यालय, खानेपानी, विद्युत्, स्वास्थ्य संस्थालगायतका संरचना तयार भए पनि गाउँ रित्तिन नछोडेको उपाध्यक्ष थापा बताउनुहुन्छ । “अहिले राष्ट्रिय परिचयपत्र बनाउने कामका लागि पहिल्यै बसाइँ सरेकाले पनि घटना दर्ता गराए भन्ने हाम्रो आँकलन छ”, थापा भन्नुहुन्छ, “यस्तै अवस्थामा बसाइँसराइ रहने हो भने हामीले गाउँमा विकास पु¥याउने, गाउँ खाली हुने अवस्था हुन्छ, यसप्रति हामी चिन्तित र सचेत छौँ ।”रासस